Thursday, January 21, 2021
Home > special_one > इतिहांसको सर्वोच्चतामा तरुणदल, बर्तमानमा उपेक्षीत युवा

इतिहांसको सर्वोच्चतामा तरुणदल, बर्तमानमा उपेक्षीत युवा

सन्दर्भ: तरुणदल स्थापना दिवस

कृष्ण जी खड्का-नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलको स्थापना भएको आज ६५ वर्ष पूरा भएको छ । प्रजातान्त्रिक योद्घा महामानव वि.पि.कोइरालाले २०१० साल कात्तिक १० गते नेपाल तरुणदलको स्थापना गर्नुभएको हो ।

१०४ वर्षको जहानिया राणाशासनको अन्य र २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली राजनीतिलाई गतिशिल बनाउने, युवा सरोकारका मुद्दालाई मुर्तरुप दिने साथै नेपाली कांग्रेस पार्टीको राजनीतिलाई समाजवाद उन्मुख बनाउने ध्येयका साथ स्थापना भएको तरुणदल सबै राजनीतिक दलका भातृ संगठनहरुमध्ये सबैभन्दा जेठो संगठन हो ।

२००७ सालको क्रान्ति सफल गर्नका लागि कांग्रेसले खडागरेको मुक्तिसेनाको प्रजातन्त्र स्थापना पश्चात बिघठन गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसमा खड्किएको युवा संगठनको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल तरुणदलको स्थापना भएको भन्ने नेपाली कांग्रेसका नेताहरुको भनाई छ भने प्रजातन्त्र विरोधिहरु सलबलाउन थालीसकेकाले प्रजातन्त्रका पक्षमा उभिन सक्ने बलियो युवाहरुको जमात तयार गर्ने हेतुले तरुणदल गठन गरिएको हो पनि भन्ने गरिन्छ ।

तरुणदलको स्थापनाको पहिलो अध्यक्ष सिंहध्वज खड्का हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा बनेको कमिटिले नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, पार्टीलाई समाजबादमा रुपान्तरण गर्नका लागि नेताहरुलाई दवाव श्रृजना गर्ने, जनतालाई प्रजातन्त्रका बारेमा सुसूचित गर्ने कार्यमा पार्टीलाई महत्वपूर्ण सहयोग गरेको नेपाली कांग्रेसका नेताहरुको भनाई रहेको छ । जस्ले गर्दा नेपाली कांग्रेसको २०१२ सालमा विरगञ्जमा भएको महाधिवेशनले आफ्नो संगठनलाई समाजवादी पार्टी घोषणा गरेको र २०१५ सालमा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेसलाई दुइतिहाई सिटसहित पहिलो पार्टी बनाउन केही भूमिका तरुणदलको थियो भन्ने नेताहरुको विश्वास छ ।

तरुणहरु भनेका विद्यार्थी जस्ता होइनन् र पार्टीका नेता जस्ता पनि होइनन्, तरुणहरु भनेको फरक खालको युवाहरुको क्याडरवेस अर्गनाइजेसन हो भन्ने महामानव वि.पि. कोईरालाको भनाई र तरुणदल कांग्रेसको भातृ संस्था होइन साथी संस्था हो भन्ने सन्त नेता कृष्णप्रसाद भट्टराइको भनाईले नेपाली कांग्रेसका संस्थापक नेताहरुको भित्रि इच्छा पनि तत्कालीन अवस्थामा नेपाल तरुणदललाई विचारमा आधारित, सवल र ससक्त संगठनका रुपमा लैजाने हो भन्ने देखाएको छ ।

२०१५ सालको आमनिर्वाचनपछि बनेको पहिलो जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोईरालाको मन्त्रीमण्डलले अगाडि सारेको जनमुखी नीति र कार्यक्रमलाई जनतामा लैजाने माध्यम नेपाल तरुणदल हो भन्ने संका तत्कालीन दरवारीयाहरुलाई परेको देखिन्छ । जस्को प्रमाण २०१७ सालमा नेपाल तरुणदलकै महाधिवेसन स्थलबाट राजा महेन्द्रले सेनाका जत्था प्रयोग गरि वि.पि.कोईराला, गणेसमान सिंह लगायतका नेताहरुलाई गिरफ्तार गरेर दलमाथिको प्रतिबन्ध लगाई पञ्चायती व्यवस्था लागु गर्नु हो । २०१७ साल पौष १ गते पछि नेपाली कांग्रेसका अधिकांस नेताहरु जेल पर्नुभयो भने कती निर्वासनमा लाग्नुभयो ।

तरुणदलको तत्कालीन अध्यक्ष सिंहध्वज खड्का र कांग्रेसका केही नेताहरु पञ्चायत तिर लागेको नेताहरुको भनाई छ । त्येसपछि २०५४ सालसम्म नेपाल तरुणदलको अस्तित्व समाप्त भएको देखिन्छ । पछिल्ला समयमा पञ्चायती शासनका विरुद्घ भएका भद्रअवज्ञा आन्दोलन , वि.पि. को मेलमिलाप नीति, जनमतसंग्रह, सत्याग्रह साथै २०४६ सालमा वीर गणेसमान सिंहले घोषण गर्नु भएको जनआन्दोलनमा नेपाली कांग्रेसमा आवद्घ युवाहरुले नेपाल विद्यार्थी संघ साथै पार्टीकै सदस्यको रुपमा सहभागी भए । नेपाली कांग्रेसमा लागेका धेरै तरुण युवाहरुले वीरगति प्राप्त गरे, अंगभंग भए र जेल जिवन बिताए । २०४६ सालको जनआन्दोलकोे सफलतापछी नेपाली कांग्रेसकानेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । सो सरकारले छोटो समयमा संविधान जारी गर्न सफल भयो ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो नेपाली कांग्रेसले बहुमत सिट प्राप्त गर्यो । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा एकमाना सरकार गठन भयो तत्कालनै २०४९ सालमा स्थानिय निकायको निर्वाचन सम्पन्न भयो तेसमा पनी नेपाली कांग्रेसले सवैभन्दा धेरै सिट जित्न सफल भयो । देशमा अव राजनितिक, आर्थिक, समाजिक, सांस्कृतिक सबै क्षेत्रमा आमुल परिवर्तन सम्भव छ भन्ने जनतामा एक खालको उत्साह र उमंग थियो । नेपाली कांग्रेसको एकमाना सरकार ५ वर्षको अवधिसम्म टिक्न सकेन । संसद विघठन भयो र २०५१ सालमा मध्यावधि निर्वाचन भयो, नेपाली कांग्रेस दोस्रो भयो । ने.क.पा. एमालेको नेतृत्वमा सरकार बन्यो ।

२०५४ सालमा स्थानिय निर्वाचनमा पनि नेपाली कांग्रेसले थोरै सिटमात्र हात पार्यो । नेपाली कांग्रेसमा फेरि एकपटक युवा शक्तिको आवस्यकता महसुस भयो र २०५४ साल कात्तिक ५,६,७ गते नेपालगञ्जमा भएको नेपाली कांग्रेसको महासमितिको बैठकले नेपाल तरुणदलको पुनस्थापना गर्ने निर्णय गर्यो । नेपाल तरुणदलको चौथो महाधिवेशनसम्म आइपुग्दा सिंहध्वज खड्का, बालकृष्ण खांड , महादेव गुरुङ्ग, विनोद कायस्थ, महेन्द्र यादव, उदय शमशेर राणा र जितजंग बस्नेत तरुणदलका अध्यक्ष भएका छन् ।

२०५६ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसलाई निर्वाचित गर्न होस वा ६२/६३ को जनआन्दोलन सफल बनाउन होस नेपाल तरुणदलको महत्वपूर्ण भूमिका रहेको छ । ६२/६३ को जनआन्दोलन सफल बनाउन नेपाल तरुणदल लगायत तत्कालीन अवस्थाका सात राजनितिक पार्टीका धेरै युवाले कुर्वानी दिएका छन् । नेपाली राजनीतिमा नेपाली तरुण युवाहरु परिवर्तनका सम्वाहक हुन भनी दावाका साथ भन्न सक्ने अवस्था नेपाली तरुण युवाहरुले आफ्नो गतिविधिबाट स्पष्ट पारेका छन् ।

पक्कै पनि तरुण युवाहरु बुद्धि, विवेक, साहस, उर्जा र लगनशिलताका प्रतिक हुन् । अवसर पाएको खण्डमा देसको मुहार फेर्न सक्ने क्षमता तरुण युवाहरुमा छ । बिडम्बना परिवर्तनका लागि सधैँ तरुण युवा तयार गर्ने परिवर्तनपछि संस्थागत गर्नका लागि तिनै तरुण युवालाई प्रयोग गर्न चुक्ने र अवसर दिन कन्जुस्याईँ गर्ने सवै राजनितिक पार्टीका नेताका पुस्तैनी संस्कारको भूमरीमा तरुण युवाहरु फसेका छन् । त्यहि कारण पुस्तै पिच्छे परिवर्तनका लागि तरुण युवाहरुले बलिदानी दिइरहनु परेको छ ।

राजनीति, व्यावसाय, रोजगारी सबै क्षेत्रमा तरुण युवा व्यवस्थापन चुनौतिको विषय बनेको छ । २०६८ को जनगणनालाई हेर्दा नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिसत युवाको संख्या छ । प्रत्येक वर्ष ५ लाख भन्दा बढी श्रमबजारको लागि तयार भएर निस्कन्छन । जस्को १० प्रतिशतले मुस्किलले स्वदेशमा रोजगारी पाउने अवस्था छ । बाँकी ९० प्रतिसत विदेश जाने वा वेरोजगार बस्नुको विकल्प छैन । यसको अर्थ आजसम्म पनि देश विकास हुन सकेको छैन, रोजगारीका क्षेत्र बढोत्तरी भएको छैन भन्ने नै हो ।

देश नै खालीहुने गरी युवा विदेश पलायन भैरहँदा पनि तिनैले पठाएको रेमिट्यान्सले देसको अर्थ व्यवस्था धानेर बस्ने र तिनै दाजुभाइ दिदीबहीनीहरुको पैसामा सत्ताको रवाफ देखाउने, आलीशान महलममा राज गर्ने, चिल्ला गाडीमा सयर गर्ने सपना बोक्ने तर तिनै दाजुभाइ दिदीबहिनीको बुवाआमा छोडेर जानुपरेको पीडा, अवोध सन्तान छाडेर हिँड्नुको बेदना, श्रीमान श्रीमती बिछोडिएर बस्नुको दर्द महसुस गर्न नसक्ने नेता राजनीतिमा रहुन्जेल तरुण युवाको भविष्य अन्धकारनै भैरहन्छ।

आफ्नो देसका परिश्रमी हातले अरुको देश स्वर्ग बनाएको हेर्न तिनैको हवाई टिकट, खानपान र बासको बन्दोबस्तमा विदेश सयर गर्ने, संसारकै भ्रष्टचारी र गरिब देशको बिल्ला भिर्न लाज नमान्ने नेता राजनीतिमा छउञ्जेल तरुण युवाले आफ्नो भविष्य कसरी देख्ने ? सबै कुराको मियो राजनीति हो सबै कुराको निकास दिनु पर्ने हो तर हुन सकेको देखिँदैन । राजनीतिक पार्टीको सदस्यता लिएका कार्यकर्ता बुवाआमाको आश एउटै हुन्छ नेताले छोराछारीलाई रोजगारीमा लगाईदेलान् ।

अबको गन्तव्य ?


नेपाल तरुणदलले युवाको सरोकारका विषयमा आगामि दिनको स्पष्ट खाका कोर्न अनिवार्य भैसकेको छ । महामानव वि.पि. कोइराला , गणेसमान सिंह , सुवर्ण शमशेर , कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुको त्यो जीवन्त इतिहासलाई साक्षी राखेर नेपाली राजनीतिलाई साथै देसको समग्र उत्थानका विषयमा नयाँ दृष्टिकोण र एजेण्डा सहित आफ्नो संगठनलाई चुस्त दुरुस्त राख्नु जरुरी छ ।

१, विधान संसोधन सहित सांगठनीक संरचनालाई संविधानको मर्म अनुरुप तत्काल रुपान्तरण गर्ने ।
२, प्रतिस्पर्धी र सक्षम नेतृत्व विकासका लागि सवलीकरण गर्ने ।
३, सांगठनीक मुल्य र मान्यतामा आधारित अनुशासित संगठनको मान्यतालाई कडाईका साथ लागु गर्ने ।
४, विकास निर्माण र सामाजिक उत्तरदायित्वको सवालमा गतिशिल बनाउने ।
५, निर्वाचनको समयमा तरुणदललाई बुथ रक्षकको रुपमा मात्र नहेरी मतदाताको घरदैलोमा सधैँ पुग्न सक्ने संगठन बनाउने ।
६, रोजगारीका उपाय र अवसरको पहिचान सहित सीपमुलक प्रशिक्षणका लागि सरकारको ध्यानाकर्षण गर्ने ।
७, सीपमुलक प्रशिक्षणका नाउमा अल्पसिप मात्र दिने र राज्यको ढुकुटी सिध्याउने परिपाटीको अन्तको लागि सशक्त भूमिका निर्वाह गरी पुर्णसिप सहित गरिखान सक्ने दक्ष युवाशक्ति उत्पादनमा जोड दिने । ८, सबै तहमा भएका भ्रष्टाचारका विरुद्घमा आवाज बुलन्द गर्ने र
९, आफूले गल्ति गर्दा सजायको भागिदार हुन तयार हुने र पार्टी पंक्तिका नेताले गल्ति गर्दा औँला ठड्याउन सक्ने सशक्त तरुण नेतृत्वको विकास गर्ने ।

(लेखक तरुणदल काठमाण्डौका अध्यक्ष हुन् ।)

Leave a Reply