काठमाडौँ, १६ असोज । नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर्र एजेन्ट (नाट्टा) र सोसाइटी अफ ट्राभल एण्ड टुर्र अपरेटर नेपाल (सोट्टो) बीच एकता प्रक्रिया थालिएको छ ।
मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका र समान उदेश्य भएका नाट्टा र सोट्टोबीच एकता प्रक्रिया थालिएको हो । एकता समितिको सोमबार बसेको बैठकले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि एक भएर अगाडि बढ्न चाँडो एकता गर्ने निर्णय गरेको हो ।
बैठकले जिडिएस सिस्टममा देखिएका समस्याहरुको समाधान गर्न, इ–सेवाले व्यवसायमा पारेको नकारात्मक प्रभाव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाँईले जानकारी दिनुभयो ।
“सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले राखेको लक्ष्य पुरा गर्नका लागि हामी एक भएर अगाडि बढाउनका लागि एकता प्रक्रिया सुरु गरेका हौँ,”–उहाँले भन्नुभयो ।
सोट्टोका अध्यक्ष अनिल लामाले पर्यटन क्षेत्रको विकास र व्यापारका लागि सबै पर्यटन व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
वार्तामा नाट्टाका प्रथम उपाध्यक्ष गुरागाईँ, सह–कोषाध्यक्ष सुरेन्द्र भट्टराई,सोट्टोका अध्यक्ष लामा, प्रथम उपाध्यक्ष मधुसुदन उपाध्याय र कोषाध्यक्ष मानबहादुर शाहीको सहभागीता रहेको थियो ।