Tuesday, January 19, 2021
Home > special_two > डिएनए परिक्षणमा प्रहरीकै लापरबाही;निर्मला पन्त प्रकरण

डिएनए परिक्षणमा प्रहरीकै लापरबाही;निर्मला पन्त प्रकरण

काठमडौँ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ ।

परीक्षणले उनीहरूलाई सफाइ दिएको छ । निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । रगतका आधारमा विधिविज्ञानले तीनजनाको डिएनए विश्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो । प्रहरीले आफ्नो प्रयोगशालामा विश्लेषण गर्दा दुईथरी नमुना म्याच नभएको ठहर गर्‍यो ।

निर्मलाको शवबाट संकलित नमुना पनि पाएको भए विधिविज्ञानले नै म्याच गर्छ कि गर्दैन भनेर किटान गर्न सक्थ्यो । तर, निर्णायक काम प्रहरी आफैँले गर्‍यो । ‘आशंका गरिएका तीनैजनाको डिएनए परीक्षण गरेर विधिविज्ञान प्रयोगशालाले प्रहरीलाई पठायो, प्रहरीको प्रयोगशालाले परीक्षण गर्दा दुईथरी डिएनए म्याच भएन,’ कञ्चनपुरका एसपी कुवेर कडायतले भने ।

आरोपी प्रहरी र उनका आफन्त निर्दोष हुन सक्छन् । तर, उनीहरूलाई सफाइ दिन सरकार किन यति गैरजिम्मेवार बन्यो भन्ने प्रश्नको जवाफ छैन । जनतालाई विश्वासमा लिन सरकारले आवश्यक ठानेकै छैन । निर्मलाको शव पखाल्ने, उनका कपडा धुने, अचानक जलाउने र नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीको मनसाय के हो ।

प्रहरी यति गैरजिम्मेवार र असंवेदनशील किन भयो । प्रहरी र तिनका आफन्तमाथि नै अनुसन्धान होस् भनेर कञ्चनपुरदेखि ताप्लेजुङसम्मका जनताले प्रदर्शन गरेका थिए । प्रदर्शनमा एकजनाको ज्यान गयो, एकजना अस्पतालमा अचेत छन्, कैयौँ घाइते भए । जनताले यति ठूलो मूल्य चुकाएपछि सत्य–तथ्य जनतासामु राख्ने प्रतिबद्धता जनाएको गृह प्रशासनले संदिग्ध सबैको डिएनए टेस्ट केन्द्रीय विधिविज्ञान प्रयोगशालामा होइन, प्रहरीकै प्रयोगशालामा गरेको छ ।

अनुसन्धानमा असंवेदनशील प्रहरीले संकलन गरेको डिएनएको नमुनामाथि नै प्रश्नचिह्न उठेको छ । त्यसैले पनि वास्तविक अपराधी पत्ता नलाग्ने खतरा बढेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धानका क्रममा प्रहरीले २ वटा गल्ती गरेको संसद्को राज्यव्यवस्था समितिको बैठकमा खुलासा गरे । सनाखत मुचुल्कामा निर्मलाका बुबा यज्ञराजको औँठाछाप लगाइएको छ । जब कि, मुचुल्का उठाउँदा यज्ञराज भारतमा थिए ।

११ गते मुचुल्का बनाउँदा आमालाई पनि हस्ताक्षर गर्न लगाएको र पर्सिपल्ट बुबालाई त्यही मुचुल्कामा औँठाछाप लगाउँदा मिति अघिल्लो परेको प्रहरीको भनाइ छ । त्यति मात्र होइन, गृहमन्त्री स्वयंले स्विकारेका छन्, ‘प्रहरीले निर्मलाका लुगा जलाएको छ ।’ सिंगो शव परिवारको जिम्मा लगाउने प्रहरीले कपडा किन जलायो रु यो गल्ती हो कि अपराध भन्ने विषय उत्तिकै सान्दर्भिक छ ।

त्यस्तै, शव भेटिनासाथ निर्मलाका खुट्टा पखाल्ने मात्र होइन, उनको सुरुवाल पनि पानीमा छपछपी धुने काम प्रहरीले नै गरेका थिए । प्रमाण मेटाउने उद्देश्य थिएन भने यो सब किन गरियो रु जवाफ गृह मन्त्रालयसँग समेत छैन । छानबिनको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि सरकार अग्रसर भएको छैन ।

प्रहरीले अनुसन्धानमा सुरुमै चरम लापरबाही गरेकाले त्यसपछिको मिहिनेत अर्थहीन बनेको छ । अहिले पनि कञ्चनपुरमा प्रहरीका आधा दर्जन टोली सक्रिय छन् । तर, कसैले पनि सुराकसमेत पाउन सकेका छैनन् । सिआइबीका एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा एक महिनाअघि नै टोली खटिएको थियो । त्यस्तै, प्रदेश प्रहरी कार्यालयबाट पनि खटिएको छ ।

एसपी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धानमा सघाउन महिला प्रहरीको अर्को टोली कञ्चनपुरमा छ । त्यसबाहेक विशेष ब्युरोलगायत निकायबाट गोप्य टोलीहरू पनि कञ्चनपुरमा सक्रिय रहेको स्रोत बताउँछ ।

निर्मला पन्त बलात्कारपछि हत्या घटनाको छानबिनका लागि गृहले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्‍यो । तीन डिआइजीसमेत भएको सो समितिले स्तविकता पत्ता लगाउने आशा गरिएको थियो, तर एक महिनापछि केही शंकित व्यक्तिहरूको नामसहित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो । तर, त्यसमा के छ भन्ने जानकारी दिन सरकारले आवश्यक ठानेको छैन ।

विगतमा विभिन्न घटनामा न्यायिक समितिसमेत गठन भएका थिए । जमिम शाह हत्या, सर्वोच्चका न्यायाधीश रणबहादुर बम हत्या, केन्द्रीय कारागारमा युनुस अन्सारीमाथि आक्रमण, इस्लामिक महासंघका महासचिव फैजान अहमदको हत्यालगायत घटनाको छानबिनका लागि ठूला समितिहरू बने । जसले विभिन्न सुझाब दिए पनि प्रतिवेदन गुमनाम छन् । दुई महिनाअघि मात्र सहसचिव ईश्वरराज पौडलले नेतृत्वको विशेष टोलीले सुन तस्करीको सञ्जाल केलाएर सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।

Leave a Reply