…… अस्मिता न्यौपाने
ए बुद्ध
सिङ्गो भुगोलमा
शान्तिको बिगुल फुक्ने तिम्रो चाह
आज मानवता नामको बधशालामा रेटिएको छ ।
म एउटि आमा भैकन पनि
अब अर्को बुद्ध नजन्माउने निर्णय गरि
आफैले आफ्नै पाठेघरमा बन्दुकको नाल तेर्स्याएकी छु ।
उसै गरि जसरी उस्ले मेरि छोरिको छातिमा तेर्स्याएको थियो र
पड्काएको थियो छोरिले पड्काएको पटाका जस्तै मुटु छेडिने गरि !!
कलिला हातहरुले मलाई छुन पाएनन्
ती सुनौला आँखाहरुले मलाई देख्न पाएनन्
तर मैले देखिरहे,पढिरहे
बडा बडा अक्षरमा उनिहरुप्रती लेखिएका श्रद्धाञ्जलीहरु
मानवता हराएर
आवाज बिहिनहरुको आवाज खोसेको खुसियालिमा
म दिन चाहान्छु यो युगलाई मृत्यु दिनको शुभकामना !!
म आत्तिन्छु,छट्पटिन्छु जुकाको गोलि निल्न नसकेकि उस्ले
बन्दुकको गोलि कसरी निलि होला??
नानिहरु बचाउन खोज्दा लागेका छर्राहरुले
म चिरिएकी छु
आँसुले नुहाएकी छु ।
ए मानवतावादी महापुरुषहरु हो के तिम्ले यो दिन रगतले नुहायौ??
बगे कलिला रहरहरु
पिडाका कहरहरु दुखहरु,आँसुहरु
अनि
बगे थुप्रै आमाहरु यो नपुंसक युगको मुलबाटो भएर
अब जन्मिदैनन् बुद्धहरु जन्मिदैन शान्ती
किन कि म बाझी भएकी छु !!
ए सिङ्गो नरपिसाच युग
नानिहरुको कहानी निलेर नयाँ बिहानि जन्माउने
तेरो मनोकाङ्क्षा पूरा भएको दिन
मैले पनि लेख्नेछु
तलाई तेरो जन्मदिनको श्रद्धाञ्जली !!!
हाल: हेटौडा
(वन बिज्ञान स्नातक अध्ययनरत)