काठमाडौँ – यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ।
खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ। समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजाकिस्तान छन। समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन। नेपाली खेलकुद टोली असोज १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ।
अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने नखेल्ने दोधारमा थियो। आइतबार अघिल्लो संस्करणमा विजेतावापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
एन्फाले पछिल्लो संस्करणको विजेताबापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बङ्गलादेश फुटबल महासङ्घलाई जानकारी गराएपछि आइतबार बङ्गलादेश फुटबल सङ्घले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।