Monday, January 18, 2021
Home > special_one > कांग्रेसको नयाँ विधानमा पदाधिकारी थप्ने प्रावधान, अन्य के-के हुँदैछ?

कांग्रेसको नयाँ विधानमा पदाधिकारी थप्ने प्रावधान, अन्य के-के हुँदैछ?

काठमाडाैं । नेपाली कांग्रेसमा पदाधिकारी थपिने भएको छ । विधान परिमार्जन तथा संशाेधन गर्न गठित विधान मस्यौदा समितिले पदाधिकारी थप्ने विषयमा सहमति जुटाएको छ।

मस्यौदा समितिमा दुई उपसभापति र सहमहामन्त्री थप्ने विषयमा सहमति नजिक पुगेको बताइएको छ । कांग्रेसमा निर्वाचित र मनोनित गरी ६ जना पदाधिकारी हुने विधानमा व्यवस्था छ। संशाेधित विधान अनुमोदन भएमा पदाधिकारी १० जना हुनेछन्।

विद्यमान विधानमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ । संशाेधित विधानमा व्यवस्था गरिएका दुई उपसभापति र सहमहामन्त्री पनि मनोनित हुने व्यवस्था छ । महाधिवेशनमा सभापतिमा पराजितलाई वरिष्ठ नेताको जिम्मेवारी विधानमै उल्लेख गर्ने विषयमा पनि छलफल भएको छ।

विधान मस्यौदा समितिमा सभापति शेरबहादुर देउवा पक्षधरले एक सय ३१ सदस्यीय कार्यसमितिको प्रस्ताव गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एक सय ११ सदस्य हुनुपर्ने बताएका छन्।

पौडेल निकट नवीन्द्रराज जोशीले भने, ‘एक सय ३१ सदस्यीयको प्रस्ताव आएको छ । मैले एक सय एकको प्रस्ताव गरेको छु, बीचतिर सहमति होला ।’ साधारण, क्रियाशील, विशिष्ठ र मानार्थ सदस्य हुने गरी सदस्यका प्रकार थप्ने विषयमा छलफल भए पनि टुंगो भने लागिसकेकाे छैन।

समितिका सदस्यहरुमा सदस्यता वितरण प्रक्रियाप्रति मतान्तर रहेको छ। सदस्यता वितरण प्रक्रिया खुकुलो र सबैका लागि खुला गर्न केही सदस्यले कुरा उठाएका छन् ।

समिति सदस्य प्रदीप पौडेलले भने ‘अब आउने निर्वाचनमा मताधिकार हुने नयाँ युवालाई समेट्ने गरी सदस्यता वितरण अनलाइनमार्फत हुनुपर्छ।’

पार्टी संगठनको प्रारम्भ वडा तहबाट हुनेछ। वडा, बुथ, निर्वाचन क्षेत्र, जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समिति हुने बताइएको छ।

 

Leave a Reply