काठमाडाैं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेकाे छ। पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो ।
नेपालको जितमा भरत खवास, सुनिल बल, निराजन खड्का र अनन्त तामाङले गोल गरे। निराजन र भरत दोस्रो हाफमा मैदान छिरेका थिए।
खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३-० ले अघि पुर्याए ।
भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल गर्यो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४-० ले जिताए ।खेलमा सुनील बलले एक गोल गरे भने दुई गोलका लागि सहयोग गरेका थिए ।