Wednesday, January 27, 2021
Home > special_two > नेपाल–चीन पारबहन सम्बन्धी बैठक सुरु, प्रोटोकललाई अन्तिम रुप दिइँदै

नेपाल–चीन पारबहन सम्बन्धी बैठक सुरु, प्रोटोकललाई अन्तिम रुप दिइँदै

काठमाडौं । नेपाल–चीन पारबहन यातायात सम्झौताको ‘प्रोटोकल’ लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबिचको व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारहरुबिच तेस्रो पटक बैठक सुरु भएको हो।

उनकाे चीन भ्रमणको क्रममा पारबहन यातायात सम्झौताको प्रोटोकललाई असोज १५ गते भित्र टुंग्याई सक्ने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका हुन ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले गर्नु भएको छ भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गर्नु भएको छ ।

बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको रुपमा सन् २०१६ मा ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबिच पारबहन यातायात सम्झौता गर्ने सहमति गरिएको थियो । सोही सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिव स्तरीय बैठक सुरु गरिएको हो ।

दुई दिनसम्म चल्ने बैठकले सो सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैँजुले जानकारी दिए ।

Leave a Reply