Thursday, January 21, 2021
Home > special_four > बिपी कोइरालालाई मरणोपरान्त ‘नेपालरत्‍न’ विभूषण, कसले के के पाए ?

बिपी कोइरालालाई मरणोपरान्त ‘नेपालरत्‍न’ विभूषण, कसले के के पाए ?

काठमाडौं । गत वर्षको ‘नेपालरत्न’ विभूषण पूर्व प्रधानमन्त्री  बिपी कोइराला (मरणोपरान्त)ले प्राप्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कोइरालाका नाति सिद्धार्थ कोइरालालाई उक्त विभूषण प्रदान गरेकी हुन्।

यस्तै ‘राष्ट्रिय गौरव’ विभूषण राजनीतिज्ञ महेन्द्रनारायण ( मरणोपरान्त)ले प्राप्त गरेका छन्। उनका तर्फबाट छोरा विमलेन्द्र निधिले उक्त विभूषण प्राप्त गरेका हुन्।

शीतल निवासमा मंगलबार गृहमन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राजनीतिज्ञ महेन्द्रनारायण निधि (मणोपरान्त) विभूषित राष्ट्रिय गौरव विभूषण निधिका सुपुत्र विमलेन्द्र निधिलाई प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।

यो सँगै राष्ट्रपति भण्डारीले विभिन्‍न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका ३ सय ४३ जनालाई विभिन्न विभूषण तथा मानपदवी प्रदान गरेकी छन्।

गत वर्ष गणतन्त्र दिवसका दिन घोषणा गरिएका मानपदवी गृह मन्त्रालयले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले विभूषण तथा मानपदवी प्रदान गरेकी हुन्।

शीतल निवासमा मंगलबार गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई (मणोपरान्त) विभूषित नेपाल रत्न विभूषण कोइरालाका नाती सिद्धार्थ कोइरालालाई प्रदान गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी। 

महाउज्ज्वल राष्ट्रदीप विभूषण स्वर्गीय शेख इद्रिस, स्वर्गीय नोना कोइराला, अमिक शेरचन, बर्मन बुढा र रामकुमारी यादवले प्राप्त गरेका छन्। इद्रिसका तर्फबाट मोहम्मद अफ्ताव आलम र नोनाका तर्फबाट डा शेखर कोइरालाले विभूषण ग्रहण गरेका थिए।

उज्ज्वल कीर्तिमय राष्ट्रदीप विभूषण संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले प्राप्त गरेको राष्ट्रपती कार्यालयद्धारा विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा मंगलबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रिलाई प्रसिद्ध प्रवल जनसेवाश्री विभूषणबाट विभूषित गर्नुहुँदै । 

कार्यक्रममा प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीश ईश्वरीप्रसाद खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी विभूषित भएका छन्।

यसैगरी सुकीर्तिमय राष्ट्रदीप विभूषणबाट २१ विभूषित भएका छन्। सुप्रबल जनसेवाश्री विभूषण १ सय १९, कीर्तिमय राष्ट्रदीप विभूषण पाँच, प्रबल जनसेवाश्री विभूषण १ सय ४० व्यक्ति विभूषित भएका छन्।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख लगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

Leave a Reply