Tuesday, January 26, 2021
Home > special_one > अमेरिकाबाट कांग्रेस प्रवक्ताकाे प्रश्नः सरकार संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसँग किन जोरी खोज्दैछ ?

अमेरिकाबाट कांग्रेस प्रवक्ताकाे प्रश्नः सरकार संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसँग किन जोरी खोज्दैछ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकी संहितामा रहेका कमजोरीहरु सच्याउनुको साटो सरकार प्रेस र चिकित्सकसँग जोरी खोजिरहेको टिप्पणी गरेका छन् ।

मुलुकी संहितामा रहेको व्यवस्था परिवर्तनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि कांग्रेस प्रवक्ता शर्माले यस्ताे टिप्पणी गरेका हुन् । उनले संहितामा रहेका कमी–कमजोरी पहिचान हुँदा संशोधन गरेर अगाडि बढ्ने उद्देश्यले नै तत्कालिन सरकारले संहिता लागू गर्ने मिति एक वर्ष पछाडि तोकेको स्मरण गराउन खोजेका छन् ।

‘‘मुलुकी संहिता लागू गर्न एक वर्षपछिको मिति तोक्नुको कारण थियो, बिचमा कमजोरी पहिचान हुँदा संशोधन गरेर बढ्ने ।’’ अमेरिका भ्रमणमा रहेका कांग्रेस प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन् ।

उनले गम्भीर प्रकृतिका विरामीलाई जिवन निर्वाहका लागि अघिल्लो सरकारले गरेको निर्णयलाई वर्तमान सरकारले खारेज गरेको प्रति लक्षित गर्दै प्रश्न गरेका छन्, ‘‘ह्विल चियरमा बसेकालाई जिविकोपार्जन भत्ता ५ हजार दिने कांग्रेस सरकारको ‘गलत निर्णय’ उल्ट्याउन सक्ने सरकार संहिताको कमजोरी नसच्याई प्रेस र चिकित्सकसंग किन जोरी खोज्दैछ ?’’

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी संहितामा भएका केही बुँदाहरुको विरोधमा असहमति जनाउँदै चिकित्सकहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । तर स्वास्थ्य मन्त्रालयले आईतबार विज्ञप्ति जारी गरेर स्वास्थ्य संस्था बन्द हड्ताल गर्नेलाई कारवाहीको चेतावनी दिएको थियो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्था बन्द गर्ने, प्रदर्शन गर्ने काम गरे/गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा  ३ को उपदफा (१) बमोजिम कारवाहीको चेतावनी दिएको थियो । उक्त व्यवस्थाअनुसार कारवाही भए ६ महिनासम्म कैद वा दुईसय रुपैयाँ जरिबाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

Leave a Reply