Friday, January 15, 2021
Home > मुख्य खबर > निर्माण व्यवसायीलाई खुसी नपारेसम्म समृद्धिको सपना नदेखे हुन्छ: दाहाल

निर्माण व्यवसायीलाई खुसी नपारेसम्म समृद्धिको सपना नदेखे हुन्छ: दाहाल

काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले निर्माण व्यवसायीहरूलाई खुसी नपारेसम्म देशमा समृद्धिको सपना देख्न नसकिने बताएका छन्। नेपाल निर्माण व्यवसायी संघ चितवनको २५ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै बुधबार दाहालले राज्यले निर्माण व्यवसायीलाई खुसी पार्न सक्नुपर्ने बताए।

‘एउटा के बुझ्न जरुरी छ भने, व्यवसाय नाफा कमाउनै गरिन्छ,’ दाहालले भने, ‘निजी क्षेत्र (व्यवसायी, निर्माण व्यवसायी) जे भने पनि उनीहरूलाई खुसी नपारेसम्म समृद्धिको सपना नदेखे हुन्छ।’

देशभर निर्माण व्यवसाय क्षेत्रको विकृति बढेको गुनासो आइरहेका बेला अध्यक्ष दाहालले भने निर्माण व्यवसायीलाई राज्यले गर्ने व्यवहारप्रति असन्तुष्टि पोखे। ‘व्यवसाय गर्ने ठग हुन्, तिनलाई ऐनले कस्नुपर्छ भन्ने एउटा स्कुलिङ नेपालमा चलेकै छ, राज्यबाट चलेको हो,’ उनले भने, ‘मैले यसो भनिरहँदा अन्यथा नसोचियोस्, निजी क्षेत्रबाट विकास निर्माण गर्नेलाई ठगको गिरोह भनिएकै हो।’

उनले यो एउटा मान्यता र संस्कार भएको बताए। दोस्रो, निर्माण क्षेत्रमा पनि राज्यलाई छल्ने, दायाँबायाँ गर्दा दुई पैसा कमाइन्छ भन्ने बुझाइ पनि रहेको दाहालले बताए। ‘राज्य नै हो यी दुईटा मान्यता र संस्कार स्थापित गराउने,’ दाहालले भने।

बिमस्टेक सम्मेलनको उकुसमुकसमा आफूलाई निर्माण व्यवसायीको कार्यक्रममा नजान भनी केही साथीले भनेको पनि उनले बताए। ‘४९/५० भइरहेको मेरो मनस्थिति ५९/६० भयो, म आएँ,’ उनले भने, ‘म आउनैपर्ने कार्यक्रम रहेछ। चितवन जिल्लाको मात्र नरहेर यो त व्यवसायी र राजनीतिको राष्ट्रिय सभाजस्तो भयो।’

उनले निर्माण व्यवसायी संघको कार्यक्रममा जे माग र अपेक्षा गरिए, ती केन्द्रीयस्तरसँग सम्बन्धित रहेको र यो कार्यक्रम केन्द्रीय निर्माण व्यवसायी संघको जस्तो भएको बताए।

विकास र समृद्धि आफैं नआउने भन्दै अध्यक्ष दाहालले कार्यक्षमतामा बृद्धि, अनुशासित पनि हुनुपर्ने बताए। उनले विकास निर्माणको क्षेत्रमा देशले नयाँ संक्रमणको सामना गरिरहेको बताए।

Leave a Reply