Tuesday, January 19, 2021
Home > special_two > प्रकाण्डलाई ३ दिन थुनामा राख्न आदेश

प्रकाण्डलाई ३ दिन थुनामा राख्न आदेश

काभ्रे । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।

प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो। काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वाेच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो।

लगत्तै अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठककै गाडीबाट उनी पक्राउ परेका थिए । उनी पाठकको गाडीमा सर्वाेच्च अदालतबाट निस्किएका थिए। पाठकको गाडी रोकेर प्रहरीले पक्राउ गरेको हो।

 कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते सो पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए।  आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो।

आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ।  प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ।

Leave a Reply