Sunday, January 17, 2021
Home > अन्तर्राष्ट्रिय > आजदेखि श्रम आवेदन अनलाइनबाटै

आजदेखि श्रम आवेदन अनलाइनबाटै

काठमाडौं । विदेश जानका लागि गरिने श्रम इजाजतको आवेदन अब अनलाइनबाटै गर्न पाइने भएको छ । वैदेशिक रोजगार विभागले आजदेखि सुरू गरेको अनलाइन प्रणाली अब ब्यक्तिगत श्रम स्वीकृतीका लागि पनि लागू हुने भएको छ । आजबाट ब्यक्तिगत स्वीकृति लिने र श्रमको रि इन्ट्री गर्ने कामदारहरुको आवेदन अनलाइनबाट बुझ्न सुरु गर्ने विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिए ।

सबै किसिमका स्वीकृितमा अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ ।

यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ । यो इमेल आइडी बनाए जस्तै हुनेछ । यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लायात सबै कानुनी व्यक्तिगत विवरण अनलाइनमा राख्नुपर्छ ।

यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक वा ईमेलको खाता बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिलै प्रयोग गर्न सक्नेछन् । र नजान्नेले अरुको मद्धत लिन सक्छन् ।
त्यसपछि बैंकमा तोकिएको शुल्क जम्मा गर्न सकिनेछ ।

आजबाट अहिलेजस्तो ताहाचलमै रहेका सीमित बैंकहरुका काउन्टरमा नभई देशका ठूला ६ बाणिज्य बैंकका जुनसुकै शाखाबाट सरकारको खातामा रकम जम्मा गराउन सकिनेछ । यसअघि जस्तो सीमित बैंकमा केही काउन्टरबाट मात्रै सरकारले तोकेको शुल्क तिर्नुपर्दा कामदार घन्टौं लाममा बस्नुपर्ने समस्यामा थिए ।

Leave a Reply