Wednesday, January 27, 2021
Home > special_three > प्रकाण्ड पक्राउबारे बादलले मुख खाेलेः उनी अपराधि हुन् कानूनी कारबाही हुन्छ

प्रकाण्ड पक्राउबारे बादलले मुख खाेलेः उनी अपराधि हुन् कानूनी कारबाही हुन्छ

भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई चन्दा आतंक मच्चाएकाले पक्राउ गरेको बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले विश्वकर्मा अपराधमा संलग्न भएकाले उनी पक्राउ परेको र अब कानून बमोजिम कारबाही गर्ने बताए ।

अपराध नियन्त्रणका लागि सरकारले आफ्नो काम गरेको बताउँदै थापाले गैरकानुनी क्रियाकलाप गर्ने कसैलाई पनि सरकारले नछोड्ने जिकिर गरे ।

बादल गृहमन्त्री हुँदा प्रकाण्डको हातमा हथकडी लाग्यो भन्ने टिप्पणीहरु भइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले भने ‘म गृहमन्त्री हुँ। मेरो काम अपराध नियन्त्रण गर्ने हो। त्यसैअन्तर्गत प्रकाण्ड समातिएका हुन् ।’

थापाले कानुन र विधि उल्लघंन गरेकाले प्रकाण्ड अपराधी भएकाे बताए  । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मालाई प्रहरीले मंगलबार राति काठमाडौँबाट पक्राउ गरेको थियो। उनीसँग बरामद् भएका कागजात हेर्दा सात करोड रूपैयाँ चन्दा असुलेको देखिएको प्रहरीले दाबी गरेको छ ।

विश्वकर्मामाथि अदालतबाट म्याद थपेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गृहमन्त्री थापा र विश्वकर्मा तत्कालीन माओवादी पार्टीमा सँगै काम गरेका नेता हुन् ।

Leave a Reply