काठमाडौं : नेपाल आयल निगममा बोनस बाँड्नका लागि छुट्याएको करिब तीन अर्ब रुपैयाँ पगेको छ। नागरिक दैनिकका अनुसार सरकारले गत तीन आर्थिक वर्षदेखि कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छोडेको छैन।
शुक्रबार सम्पन्न निगमको साधारणसभाले आर्थिक वर्ष ०७३\७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षण प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको हो।
इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम निनियोजन गर्दै आएको छ। बोनस रकम छुट्याए पनि वितरण भने गरिएको छैन। उपभोक्तासँगै पेट्रोलियम पदार्थमा चर्को मूल्य असुलेर निगमले नाफा कमाएको हो।
निगम नाफामा गएपछि आव ०७२\७३ मा एक अर्ब २६ करोड ३६ लाख र ०७१\७२ मा ९० करोड रुपैयाँ बोनस छुट्याएको थियो। करिब ३६ करोड घाटामा गएको निगम नाफामा गएपछि बोनस बाँड्ने तयारी हुँदा व्यापक आलोचना भएको थियो।