काठमाडौं । चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर डा. गोविन्द केसी अामरण अनशनमा बसेकाे आज २४ औं दिनमा पुगेको छ । यसअघि ११ औं अनशनका समयमा डा. केसी २३ दिनसम्म अनशन बसेका थिए ।
डा. केसीले असार १६ गते जुम्लाबाट अनशन सुरु गरेका हुन् । १५औं अनसन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरेका डा. केसीलाई सरकारले उपचार गर्ने भन्दै जबर्जस्ती उठाएर २०औं दिनमा काठमाडौं ल्याएको थियो।
डा. केसीको रेखदेखमा बसेको मेडिकल टिमले यही अवस्था रहे जुनसुकै बेला खतरा हुन सक्ने बताएका छन्। सरकारले डा. केसीको मागका विषयमा पर्याप्त चासो नदिँदा उनको स्वास्थ्य गम्भिर बन्दै गइरहेको भन्दै दैनिकजसो उनका समर्थकहरूले विरोध प्रदर्शन गर्दै अाएका छन् ।
चिकित्सा शिक्षा विधेयकलाई अध्यदेशमा भएको व्यवस्था अनुरुप नै प्रस्तुत गर्नुपर्ने मुख्य माग राखी डा. केसीले अनशन थालेका हुन्।