Friday, January 22, 2021
Home > mophosala > युवा उद्यमी बनाउन रत्नपत्थर सम्बन्धित निशुल्क तालिम

युवा उद्यमी बनाउन रत्नपत्थर सम्बन्धित निशुल्क तालिम

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाका ग्रामिण स्तरका युवाहरुलाई उद्यमशील बनाउन जिल्लामै पहिलो पटक रत्नपत्थर सम्बन्धि निशुल्क तालिम दिईएको छ । जिल्लामा रत्न पत्थरको प्रचुर सम्भावना भएकाले नेपाल सरकारको एकिकृत व्यपार रणनीति कार्यक्रमको सहयोगमा जिल्लाका ग्रामिण स्तरका ४० जना युवाहरुलाई तीन महिने तालिम दिईएको हो ।
नेपाल सरकार उद्योग मन्त्रालयले मुलुकभर सम्भावनाका अधारमा जिल्ला विशेष एक बस्तु छनोट गरिएका १९ वटा बस्तु मध्य मध्यपश्चिम विकास क्षेत्रमै रत्न पत्थरको प्रबद्र्धन तथा उद्योग स्थापनाका लागि जोड दिदै एकिकृत व्यपार रणनीति कार्यक्रम मार्फत बिभिन्न तालिम चलाईएको घरेलु तथा साना उद्योग विकास समिति कालिकोटका उद्योग अधिकृत आईती चौधरीले बताउनुभयो । मध्यपश्चिममै रत्न पत्थरको प्रचुर सम्भावना रहेका जिल्लाहरु कालिकोट, दैलेख र जाजरकोट मध्य कालिकोटको पत्थर निकै गुणस्तरीय रहेको बताउदै यसको प्रबद्र्धनका लागि युवाहरुलाई तीन महिनाको तालिम दिएको उद्योग अधिकृत चौधरीले बताउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समिति कालिकोटका प्रमूख चौधरीले भन्नुभयो, कालिकोट जिल्लाको भर्तामा रहेको काईनेट अर्थात पत्थर निकै गुणस्तरीय छ । यसलाई गाँउमै उद्योग स्थापना गरी वजारीकरण गर्नु आवश्यक छ । गाँउका युवाहरुले बेरोजगार बस्नुभन्दा यसैको उद्योग स्थापना गरी स्वरोजगार बन्न प्रेणा दिने तथा सहयोग गर्नका लागि जिल्लाका ग्रामिण स्तरका ४० जना युवाहरुलाई जिल्लामै पहिलो पटक रत्न पत्थर सम्बन्धि निशुल्क तालिम दिईएको उहाँले बताउनुुभयो । तालिममा सहभागी युवाहरुले आफुहरुले तिन महिनासम्म सिकेको सीपको सदुपयोग गर्न गाँउमै उद्योग स्थापना गर्ने बताए । उनीहरुले जिल्लामै रोजगारीका लागि बिभिन्न सम्भावनाहरु हुँदा हुँदै पनि आवश्यक ज्ञान, सीपको अभावमा ग्रामिण क्षेत्रका युवाहरु बिदेशीन बाध्य भएको बताउदै अबका दिनमा स्वरोजगारीका लागि उद्यमी बन्ने प्रतिबद्धता जनाए ।
नेपाल घरलु तथा साना उद्योग विकास समिति कालिकोटले कुल पुँजी पाँच लाखसम्म भएका उद्योगहरुलाई निशुल्क दर्ता गर्न थालेपछि उद्योग दर्तामा पनि बृद्धि भएको मेड्पा कार्यक्रम फोकल प्रशन अर्जुन भट्टराईले बताउनुभयो । उहाँले नेपाल सरकारको निती अनुसार पाँच लाखसम्म कुल पुँजी भएका उद्योगहरुलाई दर्ता गर्न ६ हजार १ सय दर्ता शुल्क लाग्ने गरेको बताउदै उक्त शुल्क हाल नलिने गरेको बताउनुभयो । उहाँले लघु उद्यमीहरु सेवा सहुलीयतका लागि औघोगिक व्यवसाय ऐन २०७३ जारी गरी पाँच लाख सम्मका उद्यमीहरुलाई दर्ता शुल्क नलिने व्यवस्था गरे अनुसार कालिकोटमा निशुल्क उद्योग दर्ता गर्न थालिएको हो । उहाँका अनुसार कालिकोट जिल्लाका हालसम्म ९ सय ४२ उद्योगहरु दर्ता भएका छन् । जसमध्य गत चैत महिनादेखी हालसम्म मात्र ३० उद्योगहरु निशुल्क दर्ता गरिएको छ ।

Leave a Reply