बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाका हरेक ग्रामिण बस्तीहरु सडकले जोडिन थालेका छन् । सरकारले कर्णालीका हरेक घरधुरीहरुलाई काम गरी एक घर एक रोजगार दिने उद्देश्यले संचालन भएको कर्णाली रोजगार कार्यक्रम मार्फत कालिकोटका हरेक ग्रामिण बस्तीहरु सडकले जोडिन थालेका हुन् ।
जिल्लाका साविकका ३० वटै गाविसहरुमा कर्णाली रोजगार कार्यक्रमलाई सडक निर्माणका लागि योजना छनोट गर्दा जिल्लाका हरेक बस्तीहरु ग्रामिण सडकले जोडिन थालेको कालिकोटका स्थानिय विकास अधिकारी प्रदिपराज अधिकारीले बताउनुभयो । उहाँले विगतका बर्षहरुमा कर्णाली रोजगारले बिद्यालल निर्माण, डोरेटा बाटाहरु निर्माण, खानेपानी योजनाको मर्मत, घेरबार लगायतका कामहरु गरेपनि तीन बर्ष यता सबै गाविसहरुमा कर्णाली रोजगार मार्फत ग्रामिण सडकहरु निर्माण गरिरहेको बताउनुभयो ।
गत बर्ष काम निकै कम भएका कारण कर्णाली रोजगारको झण्डै डेड करोड रुपैया फ्रिज गएपछि यस बर्ष सबैजसो गाविसहरुमा ८० प्रतिशत भन्दा बढी काम भएको कर्णाली रोजगार कार्यक्रमका ईन्जिनियर महेश शाहीले बताउनुभयो । जिल्लामा ४० प्रतिशत काम गरी सय प्रतिशत भुक्तानि लिन खोज्ने उपभोक्ता समितिहरुलाई गत आर्थिक बर्षमा जतिको काम उतिको भुक्तानि गरेपछि यस बर्ष कामले गति पाएको उहाँले बताउनुभयो ।
गत बर्ष कुल २० लाख बजेट रहेको जिल्लाको जुविथा गाविसको ग्रामिण कृषि सडकमा काम कम भएकै कारण १२ लाख फ्रिज भएपछि यस बर्ष सत प्रतिशत काम भएको कर्णाली रोजगार कार्यक्रमका प्राबिधिक कविन्द्र बडले बताउनुभयो । उहाँले भन्नुभयो, कम काम गरी बढी भुक्तानि लिन खोज्ने उपभोक्ताहरुलाई हामीले थप कडाईका साथ लियौँ । जतिको काम उतिको भुक्तानि दियौँ । अहिले त निकै कम काम गर्ने गाविसहरुमा पनि ८० प्रतिशत काम भएको छ । उहाँले कर्णाली रोजगार मार्फत जिल्लाका हरेक गाविसहरुमा न्यूनतम सडकको मापदण्डमा हुने गरी नयाँ ट्याग खोल्ने तथा विगतमा ट्याग खोलिएका सडकहरुको स्त्तोरोन्नती गर्ने कार्य भईरहेको बताउनुभयो । उहाँका अनुसार कालिकोट जिल्लाका साविकका ३० वटै गाविसमा यस आर्थिक बर्षमा मात्र झण्डै ११ करोड रुपैयाँ सडक निर्माणकै लागि खर्च भएको छ ।