Friday, January 22, 2021
Home > mophosala > कालिकोटका किसानलाई मकै छर्न चटारो

कालिकोटका किसानलाई मकै छर्न चटारो

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाका स्थानिय किसानहरुले मकै छर्न सुरु गरेका छन् । बर्षेनी खडेरीको मार खेपिरहेका यहाँका किसानहरुले यस बर्ष समयमै बर्षा भएपछि मकै छर्न सुरु गरेका हुन् ।
जिल्लाको रास्कोट नगरपालिका, पचाल झर्ना, पलाता, तिलागुफा लगायतका गाउपालिका तथा नगरपालिकाहरुमा अधिकांश किसानहरु मकै छर्न खेतबारीमा बेस्त छन् । सिजनमा परेको बर्षाका कारण समयमै मकै रोप्दा उत्पादनमा पनि बृद्धि हुने भएकाले मकै छर्न लागेको रास्कोट नगरपालिका वडा नं. ४ निवासी कृषक सकल शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, समयमै बर्षा हुँदा लेकाली भेगहरुमा मकै रोप्न हतार भएको छ । रास्कोट क्षेत्रको लेकाली भेगहरुमा चिसो हावापानी भएका कारण मकै पाक्न ढिला हुने भएकाले समयमै मकै रोप्न थालिएको छ ।
कालिकोट जिल्लामा लगातार विगत तीन बर्षदेखी खडेरी पर्दा यहाँका किसानहरुले समयमै खेती लगाउने र अपेक्षित उत्पादन गर्न सकिरहेका थिएनन् । यस बर्ष समयमै बर्षा हुनुले विगतका बर्षहरुमा किसानहरुले बेहोरेको पीडाबाट मुक्ति पाएको पचालझरना गाउपालिका वडा नं. ७ निवासी कृषक रद्ध बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले विगतको जस्तो खडेरी नपरे समयमै खेतीपाती गरी मनग्य उत्पादन गर्ने आशामा रहेका छौ । जसरी अहिले मकै रोप्ने समयमा बर्षा आएको छ त्यसरीनै समय समयमा बर्षा भएपछि मनग्य उत्पादन हुने निश्चित छ ।
कालिकोट जिल्लामा रहेको १७ हजार ९ सय ८४ हेक्टर कुल खेती योग्य जमीन मध्य २ हजार ९ सय ३० हेक्टर जमीनमा मकै खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक सहायक प्रशुराम काफ्लेले जिल्लामा रहेको अधिकांश पाखोबारीहरुमा मकै, कोदो, फापर, चिनो, कागुनो लगायतका परम्परागत बालीहरुको् खेति गरिदै आएको बताउनुभयो ।

Leave a Reply