राप्रपा अध्यक्ष कमल थापाले सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर घाइते भएका दोधारा चाँदनी–१ का १६ वर्षीय नरेश सुनार घाइते भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गर्दै घटनाको छानबिन गर्न, भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
उनले भनेका छन्,‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु। घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गर्दछु।’

भारतमा रोजगारीका लागि गएका सुनारमाथि नेपाल फर्कदै गर्दा भारतीय भूमिमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाइएको थियो।
नेपाल-भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा सुनारमाथि गोली चलाएको प्रहरीले जनाएको छ।
कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं. १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले सेतोपाटीलाई जानकारी दिए।
घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको एसपी मरासनीले बताए। उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।