नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने चेतावनी दिएका छन्।
पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा सभापति देउवालाई उक्त चेतावनी दिएको पौडेलले दाबी गरे।
‘कार्यसमितिमा सभापतिले भन्नुभयो चुनाव नगरेर केपी ओली कसरी नेपालमा बस्न सक्छन्?, मैले भने, चुनाव नगरेर ओली नेपालमा बस्न नसक्ने परिस्थितिमा जुन आँधीबेहोरी आउला त्यसले तपाईंलाई पनि बहायो भने के गर्ने?’
नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित प्रवचनमा बोल्दै पौडेलले पार्टी भित्रकै साथीहरुले अहिले धेरै बोल्न हुँदैन भनेको बताए।
संविधान जोगाउनका कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उनको भनाइ छ।
पार्टीभित्र एकमत हुनका लागि पनि एकताका आधार संविधान र लोकतन्त्र भएको उनले बताए।
‘म त कार्यसमितिमै यो कुरा भनिराखेको छ, पर्सी पनि भन्छु। यो पार्टी एकमत भएर जानुपर्छ, कोशिश गर्छु म एकमत भएर जानलाई, तर एकताको आधार यो संविधान हो, पो लोकतन्त्र हो,’ उनले भने।
लोकतन्त्रको रक्षामा जो जो एक हुन्छ त्यो सँग एक हुने भन्दै वरिष्ठ नेता पौडेलले सभापति देउवालाई लक्षित गर्दै भने, ‘जोभित्र भित्र के के मिलाउने भन्छ नि, सिक्वेन्स मिलाएर, त्यो बेर नहुन सक्छ।’
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर घोषणा गरेको निर्वाचनको अर्थ नहुने उनले बताए। कतिपय कांग्रेसजनले नै निर्वाचनको कुरा गरेको भन्द्र उनले असन्तुष्टि जनाए। अहिले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र संविधान बचाउने सबैभन्दा ठूलो दायित्व कांग्रेसको भएको उनले बताए।
प्रधानमन्त्री केपी ओलीले मुलुकलाई राजनीतिक भुमरीमा फसाएको उनले आरोप लगाए। विपी कोइरालाले ४५ बर्ष अघि दक्षिण एसियामा राजनीतिक भुमरी आएको बताएको भन्दै पौडेलले उक्त भुमरी अहिले नेपालमा आइपुगेको बताए।
‘केपी ओलीले कसको इशारामा देशभित्र यो भुमरी ल्याइरहेको छ’, पौडेलले भने, ‘अन्तर्राष्ट्रिय खिचातानीको भुमरी नेपालमा भित्राउनका लागि प्रतिनिधि सभा भंग गरिएको छ।’
प्रधानमन्त्री ओलीमा चुनाव गर्ने मनसाय र परिस्थिति नरहेको समेत उनले दाबी गरे।
‘केपी ओलीले सारा जनताको प्रतिनिधीलाई सडकमा फाल्दिएर म शासक हुँ म प्रधानमन्त्री हुँ भनेर बसेको कस्ले देख्न चाहन्छ?’ पौडेलले प्रश्न गरे, ‘अनि त्यो बेला के हुन्छ नेपालमा? केपी ओलीले शासन गरेर, मानेर को बस्न चाहन्छ?’