Tuesday, January 19, 2021
Home > mophosala > राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति सर्वपक्षीय सम्मेलन गरौं: कमल थापा

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति सर्वपक्षीय सम्मेलन गरौं: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव माओवादीसम्म अँट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्।

बिहीबार हेटौंडामा पार्टीको चुनाव चिन्ह ‘हलो’ र झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे।

उनले नेपाली जनताको अभिमत, राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने भन्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए।

नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्नेमा थापाले जोड दिए।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको बताउँदै थापाले जनताले विस्तारै यो विषय बुझ्दै गएको बताए।

राजसंस्था र हिन्दुराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरे। राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे।

मुलुकमा विकृति, विसंगति, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै उनले संवैधानिक अङ्ग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ, प्रभाव, हस्तक्षेपको तीब्र आलोचना गरे। राप्रपालाई मुलुकको वैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै थापाले संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

परिवर्तनपछि राजा ज्ञानेन्द्रको शालिनता र मर्यादित भूमिका र व्यवहारको पनि थापाले खुलेर प्रशंसा गरे।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारिले मुलुकमा विकृति र विसंगतिका कारण विद्रोहको अवस्था सिर्जना भएको बताए।

युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आँधीबेरी ल्याउनुपर्ने बताए।

सेतोपाटीबाट साभार

Leave a Reply