Thursday, January 21, 2021
Home > mophosala > प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ।

ओली नेतृत्वको सरकार बनेपछि भ्रष्टाचार व्यापक बनेको र प्रधानमन्त्री स्वयमले संरक्षण गरेको भनेर कांग्रेसले व्यक्त गरिआएको समीक्षालाई ट्रान्सपरेन्सीको ताजा प्रतिवेदनले पुष्टि गरेको कांग्रेसको भनाइ छ।

‘पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद त छ नै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेको स्थिति देशकै लागि लज्जास्पद समेत छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यसबारे सत्तारूढ दल नेकपाले धारणा सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ।

‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ,’ शर्माले भनेका छन्।

प्रधानमन्त्रीले एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भन्ने गरेको र अर्कोतर्फ भने भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म विर्सेको कांग्रेसको भनाइ छ।

‘शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ,’ शर्माले भनेका छन्।

वाइड बडि, बालुवाटार, यतिदेखि सेक्युरिटी प्रीन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरणमा निष्पक्ष छानबिन र कडा कार्वाहीका लागि कांग्रेसले माग गरेको हो।

Leave a Reply