Tuesday, January 26, 2021
Home > mophosala > रहेन त्यो उज्यालो मैन्टोल काे; केशवबिक्रम सिंह

रहेन त्यो उज्यालो मैन्टोल काे; केशवबिक्रम सिंह

दियो, पाला, टुकी, पानस र लाल्टिन पछि काे जिबासेष इन्धनलाई प्रकाश ऊर्जा मा रूपान्तरण गर्ने तत्कालिन समयको एक अत्याधुनिक उपकरण मैन्टोल यानेकी पेट्रोमेक्स र यसको प्रयोग तत्कालिन समाजको एक प्रतिबिम्ब हो। लालटिन/ मैन्टोल सँस्कृतिले नेपालको आधुनिक इतिहाँस को एक महत्वपूर्ण कालखण्डको प्रतिबिम्बित गर्दछ।वर्तमानमा नेपालको धेरै गाउँ- बस्तीमा विद्युतको विकास, बृद्धि र विकास सँगै मट्टितेल जन्य यी उपकरणको वृद्धि र विकासमा क्रम भङ्ग भएको छ।

धार्मिक/ साँस्कृतिक पर्वहरू जस्तै बिबाह, देउसी/ भैलो, जात्रा, उत्सव लगायत राजनैतिक दलका साँस्कृतिक कार्यक्रमहरु मात्र नभई विद्यालयका अभिभावक दिवस एबं साँस्कृतिक कार्यक्रमहरु पनि रात्रिकालीन हुने त्यो समयमा मैन्टोल काे महिमा अत्यधिक थियो।रात्रिकालीन राजनैतिक प्रशिक्षण र प्रौढ शिक्षा कार्यक्रमका लागि लाल्टिन अपरिहार्य थियो। हुनेखाने वर्गको घरमा बास पाएको मैन्टोल काे महिमा यति सम्म थियो की कुनै उत्सवमा यसको प्रयोगको लागि एकजना अपरेटर स्ट्याण्डबाई रहनु पर्ने – मानौं त्यो जीव अपरेटर होइन ‘ अर्दली ‘ हो। पहिलो र द्रोसो विश्वयुद्ध सँगै नेपाली समाज मा मौलाएको ‘ लाहुरे सँस्कृति ‘ ले नगद मात्र भित्राएन, नगद सँगै मट्टितेल, लाल्टिन, मैन्टोल र ‘ राजनैतिक चेतनाको ‘ दियो पनि सँगै स्वदेश भित्रायो।यही चेतनाको दियो मट्टितेलमा आगो सरी नेपाली समाज मा नसल्केको भए १०४ वर्षे जहाँनिया राणा शासन वि. सं.२००७ सालमा अन्त्य हुने थिएन। राणा शासन काे अन्त्य हुनुको मुख्य कारण मध्येको एक यही ‘ लाहुरे सँस्कृति ‘ थियो।

पञ्चायत कालमा भूमिगत रात्रिकालीन राजनैतिक प्रशिक्षण मा पनि लाल्टिन ले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। त्यो प्रशिक्षण केबल चेतनाको प्रशिक्षण थिएन। शारीरिक खेलहरु मार्सल आर्ट, हाई जम्प, लङ जम्प आदि पनि राजनैतिक प्रशिक्षणका अभिन्न अङ्ग थिए। तत्कालीन समयमा पञ्चायत सरकारले पञ्चायत विरोधीहरुलाई भिराइदिएको ट्याग ‘ अराष्ट्रिय तत्व ‘ छोटकरीमा ‘ अत ‘ हरु यातना, जेल, नेल सहन पनि शारीरिक तन्दुरुस्ती हुनुपर्ने समयको माग थियो।

वि. सं.२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएदेखि वि. सं.२०५० काे दशक आसपास सम्म ( तत्कालीन माओवादी जनयुद्ध थालनी पूर्व) नेपाली समाजमा लाल्टिन/ मैन्टोल काे प्रयोग सामाजिक, साँस्कृतिक एबं राजनैतिक प्रयोजनका निमित्त अत्यधिक मात्रामा भएको थियो। वि. सं.२०४६ साल पछि नेपाली समाजमा राजनैतिक पुनर्जागरण चरण उत्कर्षमा पुगेको बखत सम्पूर्ण टोल समाज, गाँउ – बस्ती राजनैतिक गर्मागर्मी काे रापले तरल भएको थियो। चेलीलाई माईतीमा प्रवेश निषेध, भाई – भाई मा पानी बाराबारको स्थिति आदि खुबै मौलाएका थिए। व्यक्ति बिचमा फरक मत/ विचार हुनु नै यसको कारण थियो। राजनैतिक आमसभा, जुलूस आदिमा स्वतः स्फूर्त जनसागर उर्लिन्थ्यो। नेताको सम्बोधनमा बज्ने तालीले मेघ गर्जनलाई मात खुवाउँथ्यो। विभिन्न राजनैतिक परिवर्तनका बाबजुत सबैले चाहेको ‘ नयाँ नेपाल ‘ मा आज आमजनतामा दल र राजनैतिक क्रियाकलाप प्रतिको त्यो जोश, जाँगर उत्साह दिनानुदिन घट्दै गइरहेको पाईन्छ।

वर्तमानमा सम्पूर्ण राजनैतिक दलले आमजनताको दलप्रतिको वितृष्णा समयमानै बुझ्न नसक्ने हो भने मैन्टोल जस्तै दल पनि नेपाली समाजबाट लोप हुने दिन नआउला भन्न सकिँदैन। विद्युत काे प्रकाश अगाडि मैन्टोल काे प्रकाश नगन्य हुनु नियति होइन। त्यो समयको माग हो।’ मैन्टोल सँस्कृतिको’ अन्त्य सँगै केही सामाजिक विकृतिहरू काे पनि अन्त्य नभएको होईन तर वर्तमान पुस्तालाई ‘ मैन्टोल सँस्कृति ‘ एकादेशको कथा भए जस्तै आज जनताको माग विपरित चल्ने राजनैतिक दलहरू निकट भविष्यमा केबल इतिहासको पानामा सुरक्षित रहने कुरा सुनिक्षित देखिन्छ। यो कुनै राजनैतिक दल प्रति कुनै आग्रह – पूर्वाग्रह होईन। देश विकासको निमित्त सबै जनताले राजनीति गर्नु पर्दछ भन्ने होइन तर सबै जनतामा ‘ राजनैतिक चेतना ‘ हुनु अपरिहार्य हुन्छ। कम्तीमा पनि ‘ कालो ‘ लाई ‘ कालो ‘ र ‘ सेतो ‘ लाई ‘ सेतो ‘ भन्न सक्ने हैसियत सबैले राखौं।

जय देश।

Leave a Reply