नेपाली कांग्रेसको महाधिवेशन फागुनबाट सर्ने संकेत महामन्त्री शशांक कोइरालाले गरेका छन्।
उनले छ महिनाभित्र महाधिवेशन सम्पन्न गरिने भन्दै फागुनबाट केही पर महाधिवेशन धकेलिन सक्ने बताएका हुन्।
उनले यो कुरा पूर्वी नवलपरासीमा मंगलबार आयोजित पार्टी नेता/कार्यकर्ता भेलामा सुनाएका थिए।
‘छ महिनाभित्रै महाधिवेशन गर्ने गरी सहमति भएको छ,’ उनले भने। कांग्रेसले यसअघि तोकेको कार्यतालिका अनुसार फागुन ७ देखि १४ औं महाधिवेशन हुनुपर्ने हो।
फागुनमा महाधिवेशन सम्भव छ कि छैन भन्नेबारे कांग्रेसमा अझै बहस जारी छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशन सार्ने पक्षमा छैन।
तर महामन्त्री कोइराला भने छ महिनाभित्रै महाधिवेशन गर्ने बताइरहेका छन्। उनले वैशाख/जेठमा महाधिवेशन गर्न सकिने संकेत गरेका छन्।
सभापति शेरबहादुर देउवा पक्ष भने महाधिवेशन फागुनमा सम्भव नभए छ महिना थप गरी भदौभित्र महाधिवेशन गर्ने पक्षमा छ।
महाधिवेशन मिति के गर्ने भन्नेबारे छलफल गर्न कांग्रेसले बिहीबार केन्द्रीय कार्यसमिति बैठक राखेको छ।
केन्द्रीय समिति बस्नुअघि केही दिनअघि पदाधिकारी र पूर्वपदाधिकारी सभापति देउवा निवासमा छलफल गरेका थिए।
कोइरालाले केन्द्रीय समितिले नै महाधिवेशनबारे ठोस निर्णय गर्ने पनि बताए।
क्षमतावान् व्यक्तिले पार्टी नेतृत्व हाँक्नुपर्ने पक्षमा आफू रहेको भन्दै उनले अबको महाधिवेशनबाट नेतृत्व परिवर्तनको पक्षमा रहेको बताएका छन्।