Tuesday, January 19, 2021
Home > mophosala > जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईद्वारा संसद् अधिवेशन बोलाउन माग

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईद्वारा संसद् अधिवेशन बोलाउन माग

काठमाडौं । विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् अधिवेशन बोलाउन माग गरेका छन् । सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा बोलाएर छलफल गर्नुपर्ने बताएका हुन् ।

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता उनले औँल्याए । ट्वीटरमा उनले लेखेका छन्, ‘सरकारका दुष्कर्म/कुकर्म आमजनता र प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद् अधिवेशन बोलाएर छलफल गर्ने कि: १. कोरोना २. अर्थतन्त्र ३. संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६ अन्य !’

संसदको विशेष अधिवेशन बोलाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पनि अनौपचारिक निर्णय छ । २४ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा संसदको विशेष अधिवेशन बोलाउने सम्बन्धमा एजेण्डा बनाएको छ ।

संसदको विशेष अधिवेशन बोलाउन काँग्रेससँग एकतिहाइ नभएका बेला जसपा संघीय परिषद अध्यक्ष भट्टराईको प्रस्ताव आएको छ । यसअघि असार २४ गते  जसपाका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउनु पर्ने प्रस्ताव लिएर काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका थिए ।  तर देउवाले पार्टीभित्र छलफल गरेपछि संसद अधिवेशन बोलाउने जवाफ दिएको थिए ।

संविधानको धारा ९३ (३) मा संसदको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने उल्लेख छ । प्रधानमन्त्री केपी ओली आफ्नै पार्टीमा अल्पमतमा परेपछि असार १८ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अचानक संसद अधिवेशन अन्त्य भएको जानकारी गराएकी थिइन् । यतिबेला पनि नेकपाको विवाद उत्कर्षमा छ । सत्ता पक्षमा अहिले संसद अधिवेशन बोलाउने कुनै गुन्जास छैन ।

राताेपाटिबाट साभार

Leave a Reply