अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न विवेकशील नेपाली दलले सरकारसँग माग गरेको छ।
विवेकशीलकी उपाध्यक्ष अजीता राईले शुक्रबार विज्ञप्ति निकालेर डाक्टर केसीसँग तुरून्त वार्ता गर्न सरकारसँग माग गरेकी हुन्।
‘सत्याग्रहको १२ औं दिनसम्म आइपुग्दा सम्बन्धित पक्ष डा. केसीका मागहरुप्रति संवेदनशील र जिम्मेवारपूर्ण रूपमा प्रस्तुत हुन नसक्नु खेदपूर्ण ठान्दै विवेकशील नेपाली दल डा. केसीसँग तुरुन्त वार्ता सुरू गर्न सरकारसँग माग गर्दछ,’ उपाध्यक्ष राईले निकालेको विज्ञप्तिमा भनिएको छ।
‘१९औँ सत्याग्रहको क्रममा अनसनरत जुम्लाको एक मन्दिरबाट मध्यरातमा जबरजस्ती रूपमा प्रहरीले उठाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान पुर्याएको र जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा काठमाडौँ विमानस्थल बाहिरबाट प्रहरी प्रशासनले डा. केसीमाथि बल प्रयोग गर्दै जवर्जस्ती ट्रमा सेन्टरमा लगिनु खेदजनक व्यवहार थियो,’ उनले भनेकी छन्, ‘यसबाट सरकार सत्याग्रहीमाथि कति दुराशयपूर्ण विचार राख्ने रहेछ भन्ने प्रमाणित हुन्छ। सभ्य समाजमा अस्वीकार्य ती व्यवहारको लागि सरकारले डा. केसीसमक्ष नि:शर्त माफी मागी अब आइन्दा नदोहोर्याउने प्रतिबद्धता जनाओस्।’
डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारलगायतका माग पूरा गर्न पनि विवेकशीलले माग गरेको छ।
डाक्टर केसी १२ दिनदेखि अनशनमा छन्। जुम्लामा अनशन बसेका उनलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखिएको छ।
सेताेपाटिबाट साभार