Sunday, January 24, 2021
Home > mophosala > कांग्रेसले भन्यो- रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता देऊ

कांग्रेसले भन्यो- रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता देऊ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन आग्रह गरेको छ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै उच्च सतर्कता अपनाएर जात्रालाई निरन्तरता दिन कांग्रेस संसदीय दलले आग्रह गरेको हो।

‘कोरोना जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायमका साथै उच्च सतर्कता अपनाई मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता र संवादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न कांग्रेस संसदीय दल अपिल गर्दछ,’ प्रमुख सचेतक बालकृष्ण खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ।

रथ तान्ने क्रममा बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपका घटनाप्रति कांग्रेसले दु:ख व्यक्त गरेको खाँणले उल्लेख गरेका छन्।

‘सदियौंदेखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन्। यसको हामी सबैले सम्मान र जगेर्ना गर्नु हाम्रो दायित्व र कर्तव्य हो,’ खाँणको भनाइ छ, ‘कोरोनाले काठमाडौंमा पनि निषेधाज्ञा छ। यस्तो अवस्थामा परम्परागत रूपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय तह र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वय हुनु जरूरी थियो।’

समन्वय अभावले बिहीबार हिंसात्मक झडप हुनु दु:खद भएको खाँणको भनाइ छ। कांग्रेसले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ कामना पनि गरेको छ।

सेताेपाटिबाट

Leave a Reply