काठमाडौं – नेकपाका नेताहरू सत्तामा जान पाएपछि के केसम्म गर्दा रहेछन् भन्ने गतिलो उदाहरण नेता भीम रावल बनेका छन् ।
पार्टीमा माधवकुमार नेपाल पक्षका रावल प्रधानमन्त्री केपी ओलीका कट्टर आलोचक हुन् । आफूलाई मन्त्री नबनाएपछि साढे दुई वर्षदेखि रावलले ओलीको कटु आलोचना गर्दै आएका छन् ।
उनले आफ्ना असन्तुष्टि र सरकारका गलत क्रियाकलापबारे सामाजिक सञ्जालमा लेख्दै आएका छन् । सार्वजनिक मञ्चमा पनि उनले ओलीको आलोचना गर्न छाडेका छैनन् ।
कतिसम्म भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गर्ने सरकारको तयारीपछि उनी एकाएक राष्ट्रवादी बने । उनले कुनै हालतमा पनि एमसिसी पारित गर्नु हुन्न, यो नेपाल र नेपालीका लागि ठूलो धोका हुने भन्दै लबिङ गरे । एमसिसीलाई लिएर पार्टी नै विभाजित बन्यो ।
त्यसबारे अध्ययन गर्न कार्यदल बन्यो । उनी कार्यदलको सदस्य पनि बने । पछि पार्टीको विवाद समाधान गर्ने ६ सदस्यीय कार्यदलको सदस्य पनि बने ।
तर अहिले भीम रावल कतै देखिन्नन् । सामाजिक सञ्जालमा त उनी गायब नै छन् । सरकारको विरोधभन्दा समर्थन गर्ने गरी लेख्न थालेका छन् ।
उनको यो लचकतालाई मन्त्री बन्ने अभियान भएको सबैले बताउन थालेका छन् । अब मन्त्रिपरिषद् पुनर्गठनमा उनले आफ्नो दाबेदारी प्रस्तुत गरेको बताइएको छ ।
मिडिया डबलीबाट साभार