काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कसको स्वार्थका लागि किसानलाई मल उपलब्ध नगराएको भन्दै सरकारलाई प्रश्न गरेका छन्।
देशै भरी किसानहरूलाई रासायनिक मलको हाहाकार भइरहेका बेला सरकार तथा सरकारकाे सम्बन्धित निकाय कृषी मन्त्रालयले मल उपलब्ध गराउन नसक्नु लाजमर्दो कुरा भएको उनकाे ट्वीटकाे अासय छ।
‘सरकारी अकर्मण्यताका कारण आज कृषिप्रधान देशका किसान मलका लागि भौंतारिन बाध्य छन्,’ बिहीबार ट्वीट गर्दै कोइरालाले भनेका छन्, ‘देशको मेरुदण्डका रुपमा रहेका कृषकप्रति राज्य निर्लज्ज देखिनु लाजमर्दो हो।’
उनले मल नहुँदा धानलगायत बाली उत्पादनमा ह्रास आउने भन्दै थपेका छन्, ‘उत्पादनमा ह्रास आउने र आर्थिक अवस्था भयावह हुने निश्चित छ। कसको स्वार्थको लागि मल उपलब्ध गराइएन? सरकारले जवाफ दिन जरूरी छ।’