Sunday, January 24, 2021
Home > mophosala > क्रियाशील सदस्यता कसैको कब्जामा छैन: निधि

क्रियाशील सदस्यता कसैको कब्जामा छैन: निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यता वितरण र नवीकरण कसैको कब्जामा नरहेको बताएका छन्।

सभापति शेरबहादुर देउवा समूहले क्रियाशील सदस्यता वितरणमा चलखेल गरिरहेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले लगाएका बेला निधिले केन्द्रबाट क्रियाशील वितरण र नवीकरणका काम नै नहुने भएकोले कसैले कब्जा गर्न नसक्ने बताए।

‘सबल कांग्रेसका लागि आन्तरिक लोकतन्त्र: सिद्धान्त र व्यवहार’ विषयमा प्राध्यापकहरूसँग मंगलबार भएको भर्चुअल अन्तर्क्रियामा उपसभापति निधिले भने, ‘क्रियाशील सदस्यता खुला छ। यो कसैको कब्जामा छैन र हुन पनि सक्दैन।’

क्रियाशील सदस्यता दिने र नवीकरणको काम केन्द्रीय पदाधिकारी तथा नेताका हातमा नरहेको पनि उनले बताए। ‘केन्द्रीय पदाधिकारीले होइन वडा समितिले क्रियाशील सदस्यता दिन्छ। नवीकरण गर्छ,’ उनले भने, ‘यदि उजुरी पर्‍यो भने छानविन समितिबाट छानविन गर्ने हो।’

देशभरका छ हजार सात सय ४३ वडामा क्रियाशील सदस्यता फारम पुगेको र नयाँ र नवीकरणका कामहरू भइरहेको उनको भनाइ छ। ‘हाम्रो विधान, नियमावली र परिपत्र नै वडामा क्रियाशील दिने भन्ने छ,’ उनले भने, ‘केन्द्रबाट हस्तक्षेप गर्न सक्दैन। यो नै पारदर्शी छ। यसमा कसैको कब्जा भन्ने नै हुँदैन।’

उनले पार्टीभित्र जति गुट छन् त्यसको स्वीकार गर्दै उनीहरूसँग पनि संवाद गर्नुपर्ने बताए।

‘व्यवहारिक र साँचो कुरा के हो भने पार्टीमा गुट हुन्छ। प्राध्यापक संघमा पनि गुटबन्दी होला। गुटको अन्त्य हुँदैन किनभने सम्पर्क, संवाद र सक्रियताले गुट बनेको हुन्छ,’ उनले भने, ‘मन मिल्नेसँग सम्पर्क, संवाद र सक्रियता भइरहन्छ। बरू नेतृत्वले जति गुट छन् पहिचान गरी उनीहरूसँग संवाद गर्नुपर्छ। सहमतिको पाटो निकाल्नुपर्छ।’

आफूले सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतसँग पटकपटक भेटेर गुटबन्दी न्युनिकरणका लागि प्रयास गरेको पनि निधिको भनाइ छ। उनले फागुनमा तय भएको १४ औं महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताए।

सेताेपाटिबाट साभार

Leave a Reply