Wednesday, January 27, 2021
Home > mophosala > कम्युनिस्ट सत्तामा समाचार किल गर्न ५० लाखको डिल, मालिकले थाहा पाएपछि भागाभाग

कम्युनिस्ट सत्तामा समाचार किल गर्न ५० लाखको डिल, मालिकले थाहा पाएपछि भागाभाग

काठमाडौं – पूर्वपश्चिम रेलमार्ग ट्रयाकबेड निर्माणको टेण्डरमा भएको अनियमितताको समाचार रोक्न ठूलो चलखेल भएको छ ।

नाम चलेका ‘टप थ्री’भित्र पर्नेमध्येको एउटा अनलाइनमा आएको र आउने क्रममा रहेका समाचारहरू रोक्न ५० लाखमा डिल भएको रहस्य बाहिर आएको छ ।

गुरु भट्टराई नामक ती व्यक्तिमार्फत यति ठूलो डिल भएको स्रोतको दाबी छ । ती पत्रकारसँग भट्टराईको प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले सेटिङ मिलाइदिएको स्रोतको भनाइ छ ।

५० लाखमा डिल गर्ने ती पत्रकार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिन्छन् । ती पत्रकारले १५ लाख रुपियाँ अग्रिम बयाना समेत लिएको स्रोतले जनाको छ । बाँकी ३५ लाख केही समयपछि दिने सहमति भएको थियो । तर, डिल भताभुङ्ग भएकोले ३५ लाख नपाइने भएको छ ।

बयाना स्वरुप ल्याइएको १५ लाख पनि ती पत्रकारले फिर्ता गर्नुपर्ने भएको छ । तर, डिल भएकै केही समयभित्र सो अनलाइनमा रेलमार्ग ट्रयाकबेड टेण्डरमा भएको अनियमितता र भ्रष्टाचारको समाचार जोडदार रुपमा आएपछि डिल भताभुङ्ग भएको हो ।

त्यस अनलाइनका मालिकले रेलमार्ग ट्रयाकबेडको समाचार रोक्न डिल गरेको जानकारी पाएपछि ती पत्रकारसँग स्पष्टीकरण लिएको उच्च स्रोतले जनाएको छ ।

ती पत्रकारले अर्थबिटमा समाचार लेख्ने दुई जना पत्रकार र मालिकलाई समेत पैसा दिनुपर्छ भनेर गुरु भट्टराईसँग ५० लाखमा डिल गरेको दाबी गरिएको छ ।

सो अनलाइनमा रेलमार्ग ट्रयाकबेडविरुद्ध भ्रष्टाचार र अनियमितताको निरन्तर समाचार आएपछि गुरु भट्टराई भन्ने व्यक्तिले ती पत्रकार र अनलाइनका मालिकलाई फोन गरेर ‘पैसा खाएर समाचार लेख्ने के हो पारा ?’ भनेर धम्काएका थिए ।

कुनै जानकारी नै नभएका सो अनलाइनका मालिकलाई गुरु भट्टराईले थर्काएपछि रिसाएका उनले भट्टराईलाई गाली गरेपछि ५० लाख काण्डको रहस्य बाहिरिएको थियो ।

सो अनलाइनका मालिकले रेलमार्ग ट्रयाकबेडविरुद्ध भएका अनियमितता र भ्रष्टाचारका विषयमा समाचार लेख्न बिटका पत्रकारहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

५० लाख काण्ड बाहिरिएपछि सो अनलाइनमा काम गर्ने ती पत्रकारले काम गरिरहन्छन् वा छाड्छन् चासोको विषय बनेको छ । रेलमार्गको ट्रयाकबेडको टेण्डरमा नेकपा र नेपाली कांग्रेसका ठेकेदारहरूको मिलोमतो, सेटिङमा अर्बौंको भ्रष्टाचार तथा अनियमितताको समाचार यसअघि बाहिरी सकेका छन् ।

मिडिया डबलीबाट साभार

Leave a Reply