Tuesday, January 26, 2021
Home > mophosala > स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न साझा पार्टीको माग

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न साझा पार्टीको माग

काठमाडौंसहित देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीहरू माथि भइरहेका दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्नेलाई कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको छ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको साझाका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो। त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ,’ उनले भनेका छन्।

त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिई विरामीहरूको सेवामा अहोरात्र खटिईरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझाको भनाइ छ।

‘विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाइमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो। सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुनेछ,’ उनले भनेका छन्।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टीले सरकारसँग माग गरेको हो।

देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टीले आफ्ना सदस्य, शुभेच्छुक र सर्वसाधारणलाई अपील पनि गरेको छ।

सेताेपाटिबाट साभार

Leave a Reply