Tuesday, January 19, 2021
Home > mophosala > बेलारूसका राष्ट्रपतिले पुटिनसँग मागे प्रदर्शन दबाउन सहयोग

बेलारूसका राष्ट्रपतिले पुटिनसँग मागे प्रदर्शन दबाउन सहयोग

एजेन्सीमिन्स्क, साउन ३२

पूर्वी युरोपको भूपरिवेष्ठित मुलुक बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले देशमा भइरहेको आफूविरूद्धको प्रदर्शन रोक्न छिमेकी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका छन्।

शनिबार पुटिनलाई फोन गर्दै लुकासेन्कोले अहिले बेलारूसमा भइरहेको प्रदर्शनले आफ्नो शासन तलमाथि भए त्यसको प्रभाव मस्कोमा पनि पर्ने बताएको समाचार पत्र गार्डियनले उल्लेख गरेको छ।

‘यो बेलारूसका लागिमात्र खतरा होइन। यदि बेलारसियनलाई नियन्त्रणमा लिइएन भने यसको लहर त्यहाँ (मस्को)  सम्म आइपुग्नेछ,’लुकासेन्कोले भने।

२६ वर्षदेखि बेलारूसको शासन चलाइरहेका लुकासेन्कोले अहिले भइरहेका प्रदर्शनलाई विदेशीको इसारामा भइरहेको आरोप लगाएका छन्।

प्रदर्शन रोक्न देशका विभिन्न ठाउँमा इन्टरनेट र अन्य सञ्चार सेवा अवरूद्ध गरेका लुकासेन्कोले आइतबारका लागि आह्वान गरिएको वृहत प्रदर्शनको अघिल्लो दिन पुटिनलाई गुहारेका हुन्।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले टेलिफोन कुराकानीका क्रममा दुबै नेताहरूले अहिले देखिएका सबै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको जनाएको छ। पुटिनले प्रदर्शन दबाउन लुकासेन्कोलाई कस्तो सहयोग गर्छन् भन्ने खुलाइएको छैन।

बेलारूसमा किन प्रदर्शन भइरहेको छ?

बेलारूसमा गत आइतबार राष्ट्रपतिको चुनाव भएको थियो। कोरोनाभाइरसको महामारीबीच भएको चुनावले बेलारूसमा शान्ति र स्थायित्व होइन, प्रदर्शन, दंगा, प्रहरी दमन र अनिश्चितता ल्याएको छ।

अधिकारीहरूले आइतबार साँझ लाइनमा मान्छे हुँदाहुँदै मतदानस्थल बन्द गरेको केहीबेरमा सुरू भएको आन्दोलन राजधानी मिन्स्क हुँदै देशका मुख्य सहरमा फैलिएको छ। प्रहरीको गोली लागेर अहिलेसम्म एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको र हजारौंलाई हिरासतमा लिइएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो प्रदर्शनको केन्द्रमा छन्- ३७ वर्षीया भिट्लाना तिकानोभस्काया।

दुई सन्तानकी आमा तिकानोभस्काया आइतबारको चुनावमा प्रतिपक्षी दलबाट राष्ट्रपतिकी उम्मेदवार थिइन्। उनी प्रतिपक्षी उम्मेदवारमात्र थिइनन्, २६ वर्षदेखि बेलारूसको बागडोर सम्हालेका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोविरूद्धकी प्रतीक पनि थिइन्।

शिक्षण र अनुवादक  पेसामा रहेकी तिकानोभस्काया राजनीतिमा आएको भर्खरै हो। उनका श्रीमान् ४१ वर्षीय  सियारेही सिकानोस्की युट्युबर, ब्लगर, उद्ममी र अभियन्ता थिए। पछिल्लो समय उनले लुकासेन्कोविरूद्ध राष्ट्रपति उम्मेदवार बन्ने घोषणा गरेका थिए।  उनको युट्युब च्यानल ‘कन्ट्री फर लाइफ’ बेलारूसमा लोकप्रिय थियो।

लुकासेन्को प्रशासनले गत मेमा उनलाई हिरासतमा लियो र राष्ट्रपति लड्नबाट प्रतिबन्ध लगायो, त्यसपछि तिकानोभस्काया स्वतन्त्र उम्मेदवार बनेर राष्ट्रपतिमा लडिन्।

विपक्षीलाई दबाउने, स्वतन्त्र मिडियाको अस्तित्व नस्वीकार्ने, आलोचना सहनै नसक्ने राष्ट्रपति लुकासेन्कोप्रति जनस्तरमा तीव्र असन्तुष्टि थियो। उनीहरूले त्यही असन्तुष्टि चुनावमा मतबाट पोखेका थिए।

मतपरिणाम भने लुकासेन्कोले ८० प्रतिशत मत ल्याएर विजयी भएको आयो। तिकानोभस्कायाले जम्मा १० प्रतिशतमात्र मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। उनले आयोगको मतपरिणाम अस्वीकार गरिदिएका छन्।

आइतबार भएको चुनावमा कुनै पनि परीवेक्षक सहभागी थिएनन्। सुरूदेखि नै विरोधमा उत्रिएका प्रदर्शनकारीले उक्त मतपरिणाम अस्वीकार गरेका छन्।

उनीहरू  ‘हामी परिवर्तन चाहन्छौं,’ ‘बेलारूस जिन्दावाद’ जस्ता नारा लगाएका छन्।

प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, पानीका फोहोरा र लाठी हानेको छ।

‘धेरै मानिसहरू लुकासेन्कोको विरोधमा छन्,’ ३४ वर्षीय  प्रदर्शनकारी पाभेलले  समाचार संस्था  एएफपीसँग भने,‘हाम्रो लक्ष्य लुकासेन्कोलाई जसरी पनि हटाउने हो। उनी हाम्रो राष्ट्रपति भइरहन योग्य छैनन्।’

लुकासेन्कोले भने प्रदर्शनका पछाडि विदेशी शक्ति केन्द्रको हात रहेको आरोप लगाएका छन्। विदेशी शक्ति भनेर उनले बेलायत, पोल्याण्ड र चेक रिपब्लिकलाई संकेत गरेका हुन्। प्रदर्शनलाई गैरकानुनी भन्दै उनले तिनलाई निमिट्यान्न पार्ने चेतावनी दिएका छन्।

यसअघि लुकासेन्कोले प्रतिपक्षीसँग लाग्नेलाई आतंकवादी घोषणा गर्ने र नाक भाँचिदिने बताएका थिए।

रूसका राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले भने लुकासेन्कोलाई बधाइ दिएका छन्।

सोभियत युनियनका बेला बेलारूस उसै अन्तर्गत थियो।

दोस्रो विश्वयुद्ध ताका बेलारूसले आफ्नो जनसंख्याको २४ प्रतिशत मानिस गुमाएको थियो।  त्यतिबेला बेलारूसमा एक करोड ६० लाख आमनागरिक र ६ लाख सोभियत सैनिक मारिएका थिए।  राजधानी मिन्स्कको  ८५ प्रतिशत संरचना बमले ध्वस्त भएको थियो।

लुकासेन्को युरोपमै सबैभन्दा लामो समय शासन गर्ने शासक हुन्।  उनी सन् १९९४ मा सत्तामा आएका  थिए।

सन् २००५ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस प्रशासनले उनलाई ‘युरोपका अन्तिम  तानाशाह’को संज्ञा दिएको थियो।

चुनावपछिको प्रदर्शनमा प्रहरी दमन बढ्दै गएपछि तिकानोभस्काया भागेर छिमेकी लिथुआनिया पुगेकी छन्। लिथुआनियाका विदेशमन्त्रीले तिकानोभस्काया सुरक्षित रहेको बताएका छन्। तर उनी कुन ठाउँमा छन् भन्ने खुलाइएको छैन।

पश्चिमा देशहरूले बेलारूसका सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गरिरहेको दमनको विरोध गरेका छन्।

युरोपियन युनियनका केही देशले  लुकासेन्कोको सरकारविरूद्ध फेरि प्रतिबन्ध लगाउनु पर्ने सुझाव दिएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बेलारूसमा विकसित पछिल्ला घटनामा गम्भीर चासो व्यक्त गरेको छ। प्रतिपक्षी उम्मेदवारलाई डराउने, शान्तिपूर्ण प्रदर्शनकारीलाई पक्राउ गर्नेलगायत कुराले चुनावमा धाँधली भएको देखाउने अमेरिकाको भनाइ छ।

जर्मनीले मतपरिणाममा गम्भीर शंका व्यक्त गरेको छ भने फ्रान्सले दुबै पक्षलाई संयमता अपनाउन भनेको छ। बेलारूसको छिमेकी पोल्याण्डले भने तत्काल युरोपियन युनियनको सम्मेलन गर्नु पर्ने बताएको छ।

Leave a Reply