Thursday, January 21, 2021
Home > mophosala > इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

एजेन्सीवासिङ्टन, साउन ३०

इजरायल र संयुक्त अरब इमिरेट्सबीच आपसी सम्बन्ध सुमधुर बनाउन ऐतिहासिक शान्ति सम्झौता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी बताएका छन्।

ट्रम्पले ट्विटरमार्फत यसको जानकारी दिएका हुन्। ट्रम्पको ट्विटलाई रिट्विट गर्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिब्रु भाषामा ‘ऐतिहासिक दिन’ भनेर लेखेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका युवराज मोहम्मद अल नाहयानले सम्झौतापछि संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताले मध्य पूर्वमा शान्ति र स्थिरता कायम रहने बताएका छन्।

इजरायलको अहिलेसम्म कुनै खाडी मुलुकसँग कुटनीतिक सम्बन्ध थिएन। तर इरानसँगको तनावका कारण अन्य खाडी देशहरूसँग उसको अनौपचारिक सम्पर्क भने हुँदै आएको थियो।

अमेरिकाका लागि युएईका राजदूत युसुफ अल ओतेबाले एक विज्ञप्तिमा सम्झौता कुटनीति र अन्य क्षेत्रका लागि एउटा जीत भएको र अरब, इजरायल सम्बन्धमा एक महत्वपूर्ण कदम भएको उल्लेख गरेका छन्।

उनले यस सहमतिले यी देशबीचको तनाव कम गर्ने र सकारात्मक परिवर्तनका लागि उर्जा बढ्ने बताएका छन्।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएदेखि इजरायल–अरब शान्ति सम्झौता यो तेस्रो पटक भएको हो।

यसभन्दा अगाडि इजरायलले पूर्व इजिप्टसँग सन् १९७९ र जोर्डनसँग १९९४ मा एक सम्झौतामा हस्ताक्षर गरेको थियो।

इजरायलले अब युएईका प्रतिनिधिमण्डलसँग पर्यटन, सीधा उडान, सुरक्षा, दुरसञ्चार, प्रविधि, उर्जा, स्वास्थ्य, संस्कृति, वातावरण र पारस्परिक दूतावास स्थापनाका बारेमा द्धिपक्षीय सम्झौतामा आगामी साता हस्ताक्षर गर्ने बताइएको छ।

अमेरिकाको सहयोगमा यी दुई देशले मध्यपूर्वका लागि रणनीतिक एजेन्डा तय गर्नेछन्।

Leave a Reply