Monday, January 25, 2021
Home > mophosala > ट्रम्पको ब्रिफिङ चलिरहँदा ह्वाइट हाउसबाहिर गोली चलेपछि…

ट्रम्पको ब्रिफिङ चलिरहँदा ह्वाइट हाउसबाहिर गोली चलेपछि…

एजेन्सीवासिङ्टन, साउन २७

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्र कोरोनाभाइरसबारे ब्रिफिङ गरिरहेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार त्यहीबेला अचानक सेक्रेट सर्भिसका अधिकारीहरूले उनलाई रोके। सुस्तरी केही भने। केहीबेरमै उनीहरूले ट्रम्पलाई घेरेर पोडियमबाट बाहिर निकाले।

त्यहाँ उपस्थित पत्रकारहरू अलमलमा परे। ह्वाइट हाउसका अधिकारीहरूले उनीहरूलाई हलभित्रै राखे। झन्डै १० मिनेटपछि ट्रम्प फेरि ब्रिफिङमा आए।

उनले ह्वाइट हाउसबाहिर गोली चलेकाले आफूलाई बीचमै सेक्रेट सर्भिसका मान्छेले लिएर गएको बताए।

‘त्यहाँ बाहिर गोली चलेको थियो र एक जनालाई अस्पताल लगिएको छ,’ ट्रम्पले भने,‘कानुन पालना गराउने क्रममा गोली हानिएको हो।’

गोली लागेका मान्छेले हतियार बोकेको ट्रम्पले बताए तर उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिएनन्।

‘घटना ह्वाइटहाउसको पर्खालभन्दा बाहिर भएको हो। त्यो मान्छेलाई सेक्रेट सर्भिसका अधिकारीले गोली हानेका रहेछन्।  यो घटना दुर्भाग्यपूर्ण हो,’ उनले भने।

सेक्रेट सर्भिसले पछि पेन्सलभेनिया एभको गल्ली नम्बर १७ मा गोली चलेको जानकारी दिएको थियो।

‘एक जना अधिकारी र गोली लागेका व्यक्तिलाई अस्पताल लगिएको छ। घटनाका क्रममा ह्वाइट हाउसभित्र कोही पसेको छैन र सुरक्षा गार्डलाई पनि असर परेको छैन,’ सर्भिसले भनेको छ।

ब्रिफिङका क्रममा संवाददाताहरूले ट्रम्पलाई ‘तपाईंलाई डर लागेन?’ भनेर सोधेका थिए।

‘मलाई थाहा भएन। म भयभित  देखिएको छु र?’ ट्रम्पले प्रतिप्रश्न गरे।

घटनाबारे केहीबेर प्रश्नोत्तर भएपछि ट्रम्पले  अमेरिकाले कोरोनाभाइरसको नियन्त्रणका लागि गरेका काम र आर्थिक विकासबारे कुरा गरेका थिए।

Leave a Reply