Saturday, January 16, 2021
Home > mophosala > ‘प्रचण्डलाई कसैले झुक्याएर शितल निवास लगेको होइन’

‘प्रचण्डलाई कसैले झुक्याएर शितल निवास लगेको होइन’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

साउन १३ गते ११ बजे बालुवाटारमा बैठक बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मंगलबार केहीबेर स्थायी कमिटी बैठक बालुवाटारमा बसेको थियो। उक्त बैठकले प्राकृतिक विपदमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्रलाभको कामना गरेको उनले बताए।

क्षति भएका सडक, पुलहरू निर्माण र पहिरोमा घरबारविहीनहरूलाई अस्थायी बसोबासको प्रबन्ध तथा राहत उपलब्ध गराउन स्थायी कमिटीले सरकारलाई आग्रह गरेको छ।

प्राकृतिक विपदबारे एउटा प्रस्तावमा छलफल गर्दै आज बैठक सकिएको थियो।

बैठकपछि पत्रकारहरूसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले देशैभर बाढी-पहिरोबाट जनधनको क्षति भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको बताए।

बाढी-पहिरोबाट दुई सय ३३ जनाको मृत्यु भइसकेको र ९८ जना घाइते भएको उनले जानकारी दिए।

दुई सय ८२ घर पूर्ण रूपमा क्षति भएको श्रेष्ठको भनाइ छ।

आजको स्थायी कमिटी बैठकले बाढी-पहिरोमा परेकाहरूको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षणसमेत गरेको उनले बताए।

पार्टीका कार्यकर्तालाई बाढी-पहिरोमा परेकाहरूको उद्धारमा परिचालन गर्नेसमेत निर्णय भएको उनले जानकारी दिए।

आजको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए। यसबारे पत्रकारहरूको प्रश्नमा प्रवक्ता श्रेष्ठले अन्य कामले गर्दा प्रधानमन्त्री थकान लागेकोले बैठकमा अनुपस्थित रहेको बताए।

बैठक बस्नुअघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। उक्त भेटमा आज स्थायी कमिटीको बैठकमा के गर्ने? भन्ने सन्दर्भमा नै कुराकानी भएको श्रेष्ठले बताए।

पार्टीभित्र देखिएका विवादबारे छलफल जारी नै रहेको र कुनै सहमतिमा नपुगेको उनले बताएका छन्। स्थायी कमिटी बैठक छ महिनासम्म चल्ने हो? भन्ने प्रश्नमा उनले वर्षाले एक साता पर धकलिए पनि गृहकार्य भइरहेकोले छिट्टै बैठक टुंगोमा पुग्ने जानकारी दिए।

उनले पार्टी एकता रक्षा गर्ने गरी नै निकास दिने बताए।

मंसिरमा महाधिवेशन गर्नेबारे आज कुनै छलफल नभएको उनले बताए।

श्रेष्ठले बैठकअघि ट्वीट गर्दै मंसिरमा महाधिवेशन सम्भव नरहेको बताएका थिए।

शनिबार अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शितल निवास गएको प्रसंगमा श्रेष्ठले प्रचण्ड शितलनिवास गए पनि झुक्याएर नलगिएको बताए।

‘झुक्याएर कोहीले लैजाँदैन। कोही जाँदैन। उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन,’ उनले भने, ‘सत्य के हो भने अध्यक्ष प्रचण्ड शितल निवास जानुभएको हो।’

प्रचण्डले आफू परिवन्धमा परेर शितल निवास पुगेको ब्रिफिङ गरेका समाचार आएका थिए। यसबारे प्रवक्ता श्रेष्ठले प्रचण्डबाट उक्त ब्रिफिङ नभएको दाबी गरे।

तपाईंहरू प्रधानमन्त्रीको राजीनामाबाट पछाडि हट्नुभएको हो? भन्ने प्रश्नमा श्रेष्ठले व्यंग गर्दै दुई कदम पछि सरेर भने- अहिले चाहिँ ब्याक भएको हुँ।

सेताेपाटिबाट साभार

Leave a Reply