Friday, January 15, 2021
Home > mophosala > कांग्रेस महामन्त्री कोइरालाको प्रश्न- विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति कि नेकपाको?

कांग्रेस महामन्त्री कोइरालाको प्रश्न- विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति कि नेकपाको?

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियताप्रति प्रश्न गरेका छन्।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपति भण्डारीले चासो देखाउँदै सक्रियता बढाउनुले राष्ट्रपति संस्थाको तटस्थ भूमिकाप्रति नै प्रश्न उठ्ने गरेको उनले बताए।

वीपी कोइरालाको ३८ औं स्मृतिमा मंगलबार वीपी युवा नेतृत्व विकास मञ्चले गरेको कार्यक्रममा महामन्त्री कोइरालाले राष्ट्रपतिका यस्तै भूमिका र क्रियाशीलताले जनतामा गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भन्ने भ्रम पर्न सक्ने पनि उल्लेख गरे।

‘राष्ट्रपति त तटस्थ हुनुपर्‍यो, राष्ट्रपतिले यसरी हस्तक्षेप गरेर जानुभएन,’ उनले भने, ‘उहाँ त राष्ट्रपति नेपालको होइन कि नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रपति भएर जानुभयो, यो गलत हो भन्ने मेरो धारणा हो।’

केही जमातले राष्ट्रपतिको सक्रियतालाई लिएर कमसेकम राजा त तटस्थ हुन्थे भन्न थालेको पनि कोइरालाले बताए।

उनले पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाइतर समूहबाट सहमतिमै एक जना सभापति उठ्ने बताए। तर ती उम्मेदवार को हुनेछ भन्ने उनले खुलाएनन्। छलफल जारी रहेको मात्रै उनले बताए। कांग्रेसको महाधिवेशन फागुनमा छ।

सभापति देउवाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा विभाग गठन र पूर्णता दिने काम गरेर महाधिवेशन प्रभावित बनाउन खोजेको आरोप उनको थियो।

सेताेपाटिबाट साभार

Leave a Reply