काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिवको पीडा नसुनेर सरकार जनताको अभिभावक बन्नबाट पूर्ण चुकेको बताएका छन् ।
‘दैनिक ज्यालामा बाँच्ने गरिव नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो । खाली पेट बच्चा बोकेर लामो दूरी हिँड्दै घर फर्कन बाध्य नागरिकलाई सरकारले थुन्न थालेको छ,’ अध्यक्ष राणाले बिहीबार भने, ‘थुनेर मात्र समस्याको हल हुँदैन, विपन्न वर्गको कष्ट दूर गर्दैन । यस मानेमा जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको छ ।’
विपद् व्यवस्थापनको स्थापित मान्यताविपरीत सरकारले नै गृह प्रशासनलाई गुमराहमा राखेकोमा राणाले चिन्ता प्रकट गरेका छन् । कोरोना महामारी विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गर्नु अनौठो भएको उनले बताए ।
‘विपद् व्यवस्थापनमा गृह मन्त्रालयको केन्द्रीय भूमिका रहने गर्दछ । तर कोभिड–१९ विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गरिएको छ । पद्धतिअनुकूल राज्यको प्रमुख संरचना क्रियाशील नगराउनु आठौं आश्चर्यसरह हुन्छ । यस्तो असामान्य परिदृश्यले संकटमा सही र सकारात्मक सन्देश प्रवाह गर्दैन,’ राणाले भने ।
राप्रपा अध्यक्षले ट्वीट गर्दै प्रकोपको बेलामा सरकार मितव्ययी बन्नु पर्ने पनि सुझाएका छन् । पछिल्ला नियुक्तिहरू असान्दर्भिक रहेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।
‘विश्व महामारीमा छ, देश संकटमा छ । तर कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तो सरकार नयाँ–नयाँ पद सिर्जनामा लागेको छ । जबकी सरकार अहिले मितव्ययी बनेर उदाहरण बन्नु पर्ने हो,’ उनले भने ।
रातोपाटिबाट साभार