रासस
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए । सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ ।
पोखरेलले थपे, “दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् ।”
विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।