Tuesday, January 19, 2021
Home > mophosala > अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन सुरु

एजेन्सी काबुल, फागुन २८

अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको एक अमेरिकी सैनिक अधिकारीले मङ्गलबार बताएका छन्।

अफगानिस्तानमा हिंसा र राजनीतिक सङ्कट गहिरिँदै गए पनि काबुल र तालिबानबीचको प्रस्तावित शान्ति वार्ता हुनुअघि अमेरिकी सैनिक फिर्ता हुन थालेका हुन्।

संयुक्तराज्य अमेरिका आफ्नो सबैभन्दा लामो द्वन्द्व अन्त्य गर्न उत्सुक छ।

दोहामा गत महिना अमेरिका र तालिबान समूहबीच सम्पन्न सम्झौताको शर्तमा १४ महिनाको अवधिभित्र अमेरिकी समेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ। तर यसको बदलामा तालिबानीले सुरक्षाको प्रत्याभूति गर्नु पर्नेछ।

सम्झौता अन्तर्गत, अमेरिकाले जुलाईको मध्यसम्ममा अफगानिस्तानमा तैनाथ कूल १२ हजार सैनिकमध्येबाट ८ हजार ६०० मात्र राख्ने र बाँकी करिब ५ हजार फिर्ता गर्ने उल्लेख छ। अमेरिकाले एक अनुमान अनुसार अफगानिस्तानका २० अमेरिकी सैन्य अखडामध्ये पाँच वटा बन्द गर्नेछ।

नाम बताउन नचाहने एक सैनिक अधिकारका अनुसार अमेरिकी सेनाले दक्षिणको हेल्मन्ड प्रान्तको राजधानी लश्करगाह र पश्चिमी हेरात प्रान्तको सैनिक अखडा छाड्न थालेको छ।

अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रवक्ता कर्णेल सन्नी लेगिटले अमेरिकी सैनिकले अफगानिस्तानमा आतङ्कवाद विरुद्धको अभियान र अफगान सेनालाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताए।

छिमेकी कान्धाहार प्रान्तसँगै जोडिएको हेल्मान्ड प्राप्त तालिबानीको गढ मानिन्छ। यहाँ १८ वर्षे द्वन्द्वमा अमेरिकी र बेलायती सेनाले तालिबानसँग भिषण रक्तपातपूर्ण युद्ध लडेका थिए।

हेल्मान्ड प्रान्तका गभर्नरका प्रवक्ता ओमर ज्वाकले एएफपीलाई सप्ताहान्तमा २० देखि ३० जना विदेशीले लश्करगाह छाडेको बताए।

अमेरिका र तालिबानबीच सम्झौता भएपछि पनि तालिबान समूहले अफगान सैनिकमाथि ठाउँठाउँमा हमला गरेका छन् तर यी हमला रोक्न अमेरिकी सेनाले खासै तत्परता देखाएको छैन ।

Leave a Reply