Sunday, January 17, 2021
Home > mophosala > प्रधानमन्त्रीको स्वास्थ्य सामान्य मानिसको जस्तै हुन कम्तीमा ६ महिना लाग्न सक्छ: चिकित्सक शाह

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य मानिसको जस्तै हुन कम्तीमा ६ महिना लाग्न सक्छ: चिकित्सक शाह

प्रधानमन्त्री केपीशर्मा ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाप्रति आफूहरु कन्फिडेन्स नभएसम्म डिस्चार्ज नगर्ने बताएकी छिन्।

सञ्चारकर्मीहरुसँग त्रिवि शिक्षण अस्पतालमा कुराकानी गर्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको बताइन्। ‘यद्यपी हामी कनफर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज गर्दैनौं’ उनले भनिन्।

सम्भवतः अबको २/३ दिनमा ओलीलाई डिस्चार्ज गर्न सकिने उनकाे भनाइ छ। डिस्चार्ज गर्नुभन्दा पहिले नै सञ्चारकर्मीलाई यसबारे जानकारी दिइने उनले बताइन्।

अहिले नै ओलीलाई डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भीडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमा राख्न खोजिएको उनले बताइन्। सामान्य मानिसले जस्तै जिउन ओलीलाई ६ महिनादेखि १ वर्षसम्म लाग्ने शाहले बताइन्।

ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण भएको ६ दिन बित्दा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको संलग्न चिकित्सकहरुले बताउँदै आएका छन्। चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको खानपिन नियमित हुन थालेको छ।

मिर्गौला प्रत्यारोपणका बेला अपनाइएको कानुनी प्रक्रियाबारे पत्रकारले राखेको जिज्ञासामा डाक्टर शाहले सबै कानुनी प्रक्रिया पूरा गरेको बताइन्।

‘अरूको प्रत्यारोपण गर्दा जे प्रक्रिया अपनाइन्छ। प्रधानमन्त्रीकोमा पनि ती सबै प्रक्रिया अपनाइएको छ,’ शाहले भनिन्,‘सबै कुराको भिडिओ रेकर्ड राखिएको छ। प्रधानमन्त्रीलाई अरू तीन-चार जनाले पनि मिर्गौला दिन खोजेका थिए तर समीक्षाजीको धेरै मिलेकाले उहाँले दान गर्नुभएको हो।’

मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर प्रेमराज ज्ञवालीले मिर्गौला दान दिने व्यक्तिको जीवन पनि अरू सामान्य मानिसको जस्तै हुने बताए।

‘संसारभर नै मिर्गौला दान गरेका मानिस अरूजस्तै सामान्य तरिकाले बाँच्न सक्छन्। फरक यत्ति हो कि बेलाबेलामा जाँच गरिरहनुपर्छ,’ ज्ञवालीले भने।

डाक्टर जेपी अग्रवालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएपछि शिक्षण अस्पताललाई चुनौती थपिएको बताए।

‘अब जनताले हामीलाई धेरै भरोसा गर्नेछन् र उपचार गर्न आउनेहरू पनि बढ्नेछन्। हामीलाई स्रोतसाधनसम्पन्न बनाउन सरकारले पहल गर्ने छ भन्ने आशा छ,’ अग्रवालले भने।

सेतोपाटिबाट साभार

Leave a Reply