नोबेल कोरोना भाइरसको कारण चीनको बैभवशाली वुहान शहर यतिबेला मर्त्यलोकको केन्द्र झैं चर्चा बिबेचनामा उभेको छ। महामारी आफैमा त्रासदी हो। छेउकुनाबाट सल्केको डढेलो जस्तै निभाइनसक्नु आगोका फिलिङ्गो हो।
जसरी अष्ट्रेलियाको घनाजंगल जलेर खरानी भयो, जसरी सुनामिले जापानलाई तहस बनायो, उसैगरी महामारिले यतिबेला माओको देश विशाल चीनलाई क्षतबिक्षत पारेको छ।
अष्ट्रेलियाको जंगलमा आगो निभाउन जति कठिन भयो, जापानको सुनामि कम्पन शान्त हुन जति सकस पर्यो, त्यो भन्दा अधिक कठिनाई र अन्यौल यतिबेला समग्र चीनले झेलिरहेको छ।
महामारीको उद्गम थलो वुहान शहरलाई पत्रपत्रीकाले यसबेला प्रेतात्माको भुताहा शहर जस्तै वर्णन गरेका छन्। मानव पाइलाको अनुपस्थितीमा, सवारी साधनको शून्य आवागमनमा सडकहरु खाली खाली छन्।
मानिसहरु घरभित्रै भय पालेर चारै प्रहर गुजारिरहेका छन्। जो यो ज्यानमारा भाइरसबाट संक्रमित छन्, उनिहरु अधिकांशले आफूलाई यमराजको द्वार नजिक पुगेको महसुस गरेर मृत्यु कुर्न बाध्य छन्।
जो संक्रमणबाट जोगिएका छन् उनिहरुलाई झन धेरै तनाव छ। त्यो मृतशहरलाई पर्खेर बस्ने कि त्यहिका बासिन्दा छन् कि त स्वदेश फर्कन नपाएका नेपाली नागरिक छन्। अनेकौं देशले आफ्ना नागरिललाई फिर्ता लगिसके, नेपालले आझैसम्म आफ्ना नागरिक फिर्ता ल्याउन नसक्नुको कारण खोजि गर्दा कि सरकार यस कामप्रती उदासिन छ कि त बिलम्ब गराउने निर्देशन हुन सक्छ।
सियोको टुप्पोमा लाखौं भाइरस अट्न सक्छन् । यतिका धर्तिमा त कति अथाह भाइरस फैलिएका होलान् ? हङकङ चीनकै पूर्वि दक्षिण प्रान्त हो, यहाँ पनि त्रास बढेको छ। दिनादिन संक्रमितहरुको संख्या बढिरहेको छ। आशा र भरोशा यो छ कि यसलाई निर्मूल गर्ने खोप चांडै आविष्कार होस्। मेडिकल साइन्समा तल्लिन बैज्ञानिकहरुको मेहनत साकार होस। यति भन्नू र पर्खनु बाहेक कसैसंग कुनै उपाय छैन।
बुहानमा थुनिएका नेपालीलाई चांडो स्वदेश लैजाने अभिभारा सरकारको हो। नेपालको ओलि सरकारले नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूती दिउन। हर हालतमा आफ्ना नागरिक प्रतीको जिम्मेवारी पूरा गरुन् । जय नेपाल।
मोति चामलिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन।