एजेन्सी
एल, साल्भाडोर भारी हतियारले सुसज्जित प्रहरी तथा सेना ल्याटिन अमेरिकी मुलुक एल साल्बाडोरको संसदमा प्रवेश गरेका छन्।
उनीहरू आफूलाई थप सुसज्जित गराउन १०९ मिलियन अमेरिकी डलर बराबरको ऋण रकम पारित गर्नुपर्ने माग गर्दै संसद छिरेका हुन्।
राष्ट्रपति नायब बुकेलेले संसदलाई सम्बोधन गर्नै लाग्दा सेना र प्रहरी संसद भवन प्रवेश गरेका थिए। बुकेले गत शुक्रबार संसदलाई आफ्नो ऋणसम्बन्धी योजनामा साथ दिन सात दिनको समय दिएका थिए।
हतियारधारी प्रहरी र सेनाको संसद प्रवेशलाई विपक्षी राजनीतिज्ञले भयभित पार्ने कदम भनेका छन्।
एल साल्भाडोर संसारकै सबैभन्दा धेरै हत्या हुने मुलुक हो। मध्य अमेरिकाभर सक्रिय आपराधिक समूह साल्भाडोरमा नागरिकको हत्या गर्ने गरेका छन्।
सन् २०१९ मा राष्ट्रपति सम्हालेका बुकेले अपराधविरुद्धको लडाइँमा प्रहरी तथा सेनालाई थप प्रभावकारी बनाउन ऋण लिने योजनामा रहेका छन्। उनले त्यतिबेला भ्रष्टाचार र आपराधिक समूहको सिलसिलेवार हिंसालाई मथ्थर पार्ने वचन दिएका थिए।
आइतबार राजधानी सान साल्बाडोरमा राष्ट्रपति बुकेलेको सुरक्षा योजनालाई समर्थन गर्न सयौंको संख्यामा मानिसहरू संसद भवन बाहिर जम्मा भएका थिए।