Saturday, January 16, 2021
Home > mophosala > कर्णालीका ‘देउडा सम्राट’ नेत्र, ४२ वर्षदेखि देउडा धान्दै

कर्णालीका ‘देउडा सम्राट’ नेत्र, ४२ वर्षदेखि देउडा धान्दै

कालिकोट । कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ७ गैरामा जन्मेका नेत्रराज शाही अहिले ५८ वर्षका भए । २०५४ सालमा जिल्ला विकास समितिको सदस्य भएका नेत्र हाल जिल्ला समन्वय समितिको सदस्यका रूपमा कार्यरत छन् ।

कर्णाली तथा सुदुरपश्चिम प्रदेशको मौलिक संस्कृति हो देउडा । उतिबेला बाइसे राज्य हुँदा कर्णालीमा २२ राज्य थिए । ती राज्य पछि आएर १८ मा खुम्चिए । कुमाल, गढवालसम्म फैलिएको यसको क्षेत्र नै देउडा गीतको उदगम स्थल हो । हाल सुदूर पश्चिम र कर्णाली अलग प्रदेश भएपनि खस संस्कृतिको उदगम स्थल यहि कर्णाली हो । कर्णालीको मौलिक कला र साहित्यलाई जोगाई राख्न देउडा खेल खेलेर शाहीले योगदान दिइरहेका छन् ।

२०७५ सालको बैशाख पाँच गते पचालझरना गाउँपालिकाले उनलाई देउडा सम्राटको रूपमा सम्मानीत गर्यो । उनलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मान प्रदान गरे । ‘१६ वर्षदेखि नै मैले देउडा गीत गाउन, प्रतिस्पर्धामा भाग लिन शुरू गरेको हुँ । मेरो परवाजे चन्द्रराज शाही, बाजे लालबहादुर शाही र बुबा अनिपाल शाही देउडा खेलाडी नै हुन् । उहाँहरूको क्षमताबाट प्रभावित भएका कारण मैले पनि देउडा गीत गाउन शुरू गरें,’ उनी भन्छन्, ‘तीन भाइ तीन बहिनीको जेठो भाइको रूपमा मेरो जन्म भएको हो ।’

उनी देउडा खेल खेल्न कर्णालीको हुम्ला बाहेकका सबै जिल्लामा पुगिसकेका छन् । साविक भेरीको जाजरकोटबाहेक सबै जिल्ला तथा सुदूर पश्चिमको सेती अञ्चलका पाँच जिल्ला र महेन्द्रनगरसम्म पुगिसकेको अनुभव सुनाउँछन् । २०४२ सालमा काठमाडौंमा मनाइएको गौरा पर्वमा पनि उनले प्रस्तुति दिएका थिए ।

उनले तीन वटा विवाह गरेका थिए । ती मध्ये अहिले दुई श्रीमतीसँगै छिन् । उनका ८ छोरा छन् भने चार छोरी छन् । पाइताला सारेर प्रत्यक्ष गीत भन्ने उनी कर्णालीमा सबैभन्दा लोकप्रिय देउडा खेलौडाको रुपमा स्थापित भइसकेका छन् । किटु बस दुर्घटनाको उनले एल्बम नै निकालेका छन् भने सयौं गीतहरू उनले अरूलाई गाउन दिइसकेको बताउँछन् । उनले आफ्ना बुवालाई सर्मपित गर्दै कविता संग्रह ‘अमर अनिपाल शाही’ कृति बजारमा ल्याइसकेका छन् । यस्तै देउडा संग्रह पनि बजारमा ल्याइसकेका छन् । ‘सिधै सवाल जवाफ गर्ने र देउडामा गीत भन्ने भएका कारण मैले धेरै एल्बम बजारमा ल्याइन,’ उनी भन्छन्, ‘आम जनतालाई रंगी विरंगी गीतहरूका माध्यमबाट मनोरञ्जन दिंदै आएको छु ।’

तत्कालिन अवस्थामा कालिकोट जिल्लामा जनयुद्ध व्यापक मात्रामा फैलियो । ‘म पनि तत्कालिन माओवादी कार्यकर्ता भएका कारण ममाथि जिल्ला सदरमुकाममा सुरक्षा निकायले कडा निगरानी राखिरहेको थियो । उक्त निगरानीलाई छल्दै २०५८ साल कात्तिक १९ गते म सेनाको चंगुलमा पर्नबाट भागें । म ६ वर्ष भारत बस्न बाध्य भएको थिएँ,’ उनी आफ्नो जीन्दगीमा मरेर पनि बाँच्न सफल भएको दिनको रूपमा कात्तिक २९ गतेलाई लिन्छन्, ‘यसबाहेक मेरो जिन्दगीमा एक दिन दुःखद खबर पनि आयो । २०६० साल भदौ १३ गते भाइ हुकुमराज शाहीलाई कालिकोटको मान्ममा सेनाले गोली हानेर हत्या गरेको पल जिन्दगीमा कहिल्यै पनि भुल्न सक्दिन ।’

हालसम्म उनले हजारौं कार्यक्रममा देउडा खेल खेलिसकेका छन् । यति मात्रै होइन, उनी देउडा खेल्दा विरलै विपक्षी खेलाडीबाट हार व्यहोरेको अन्यथा सधैं जितेको अनुभव सुनाउँछन् । उनले गौरा पर्वमा पहिलो भएको स्मरण समेत गरे । उनीसँग अहिले तीन सयभन्दा बढी प्रमाणपत्र र सम्मानपत्र साथमा छन् ।

देउडा खेलेर मात्रै जीवनको गुजारा गर्न सकिने वातावरण अहिले नभएको उनी बताउँछन् । ‘अहिले ४० वर्षभन्दा माथिको उमेर भएकाहरूले मात्रै देउडा खेल्ने र मनोरञ्जन लिने गरेका छन्,’ उनी भन्छन्, ‘जबसम्म देउडामा युवाहरूको सहभागिता गराउन सकिदैन तबसम्म देउडा खेल्नेहरूले अर्को काम गर्नैपर्ने बाध्यता छ ।’

उनले देउडालाई समाजमा स्थापित गर्न राज्यले चाहेको खण्डमा धेरै गर्न सकिने बताए । ‘गाउँमा, विद्यालयमा आयोजना हुने सबै कार्यक्रममा देउडालाई नै प्राथमिकता दिएर युवाको सहभागिता गराउन राज्यले सक्छ,’ उनी भन्छन्, ‘समाजमा रहेका कुरिती, कुप्रथा विरुद्ध जनचेतना जगाउन पनि देउडाकै सहारा लिन सके राम्रो हुन्छ ।’

उनले तीनै तहका सरकारले केन्द्रमा रहेको प्रज्ञा प्रतिष्ठान जस्तै प्रदेश र स्थानीय तहमा पनि देउडा जोगाउन समिति नै गठन गर्नुपर्ने धारणा राखे । ‘अन्य सबै कलाका क्षेत्रमा काम गर्नेहरूको विभिन्न संस्थाहरू छन्,’ उनी भन्छन्, ‘देउडा विज्ञको एक समिति बनाई देउडा र कर्णालीको मौलिक कला जोगाउन राज्यले पहल चाल्न ढिला गर्नहुँदैन । पाश्चात्य साहित्यको बिगबिगी बढिरहेको यो अवस्थामा आगामी दुई दशकमा देउडा संस्कृति लोप हुनसक्ने खतरा मैले देखेको छु ।’ उनले युवालाई प्राथमिकता दिई युवामाझ  देउडा संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।

‘हाल राज्यका निकायहरूले चाहिएको बेलामात्रै कलाकारलाई प्रयोग गरिरहेका छन् । केहि समयपछि राज्यले भूल्दै आएको मैले महसुस गरेको छु,’ उनी भन्छन्, ‘राज्यले कला क्षेत्रमा लागेकाहरूलाई उचित सम्मान दिन आवश्यक छ । देउडा संस्कृतिको सम्मान स्वरुप कर्णाली प्रदेश सरकारले साउन एक गते दिएको विदा सह्राहनीय छ । तर यो भन्दा पनि भदौ तिर या अन्य कुनै महिनामा विदा दिएको भए असाध्यै राम्रो हुने थियो । हामीसँग सल्लाह भएको भए हामी उचित सुझाव दिने थियौं ।’

उनले सुदुर पश्चिम सरकार र कर्णाली सरकारले देउडालाई जगेर्ना गर्न एक संयुक्त समिति बनाई सहकार्य गर्नुपर्ने बताए । ‘देउडालाई कर्णाली वा सुदुरपश्चिम भनेर पृथकीकरण नगरौं,’ उनले भने, ‘बरु सामुहिक एक समिति निर्माण गरेर एकीकरण गर्दै अघि बढौं । त्यसो गरेमात्रै देउडालाई नयाँ उचाईमा उठाउन सकिन्छ । देउडालाई देशकै पहिचानको रुपमा संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ जस्तो मलाई लाग्छ ।’

कर्णाली भेरीका जिल्ला काहि रहेनन् खाली

जाँ गयाँ पिरतीका नाउँमा संसार बजे ताली ।।

गाइकन गीत भनिकन मान सम्मान भेटियो

जसले मेरो गीत सुन्यो उसकै मन रेटियो ।।

उनी देउडा गीत खेलेर सन्तुष्ट बनेको बताउँछन् । ‘मैले धेरै स्थानमा गई गीत भनें । खेलें । सबैको माया पाएँ । ममता पाएँ,’ उनी भन्छन्, ‘मैले देउडा खेलेर देउडा कलाको राजाको रूपमा स्थापित गर्न योगदान पुर्‍याएको महसुस गरेको छु ।’ उनले मौलिक परम्परालाई रक्षा गर्नु, प्रचार प्रसार गर्नु सबैको दायित्व भएको बताउँदै आफ्नो प्राण रहुञ्जेल सम्म देउडा खेलिरहने र खेल्न प्रेरणा दिइरहने बताए ।

लोकान्तरबाट साभार

Leave a Reply