Friday, January 15, 2021
Home > mophosala > भ्यागुताको कोषबाट वैज्ञानिकले बनाए ‘जीवित’ रोबोट

भ्यागुताको कोषबाट वैज्ञानिकले बनाए ‘जीवित’ रोबोट

एजेन्सी । रोबोट भन्नासाथ हामी प्लास्टिक वा धातुले बनेका निर्जीव ‘मेसिन’ बुझ्छौं। अमेरिकी वैज्ञानिकहरूले भने निर्जीव वस्तु होइन, प्राणीबाटै रोबोट बनाएका छन्। प्राणीबाट बनाइएकाले उनीहरूले यसलाई ‘जीवित रोबोट’ भनेका छन्।

‘जेनोबोट्स’ नाम दिइएको यो रोबोट वैज्ञानिकहरूले अफ्रिकी भ्यागुताका कोषबाट बनाएका हुन्। ‘जेनोपस लेभिस’ प्रजातिको भ्यागुताको कोष प्रयोग गरेर रोबोट विकास गरिएको अमेरिकाको भर्मन्ट विश्वविद्यालयले जनाएको छ।

वैज्ञानिकहरूका अनुसार यो संसारकै पहिलो जीवित रोबोट हो, जुन स्वचालित छ। यो आफैं चलमलाउन सक्छ। कसैको निर्देशन वा नियन्त्रणबिनै हिँड्न र पौडन सक्छ। यसको औसत आयु एक साता मात्र हुने अध्येताहरू बताउँछन्। जेनोबोट्स जम्मा ०.४ मिलिमिटरको छ, जुन मानव शरीरमा सहजै प्रवेश गर्न सक्छ।

यो जीवित रोबोटले आफ्नो खाना आफैं बनाउँछ। एक सातासम्म पुग्ने खाना भण्डार गर्ने क्षमता भएको जेनोबोट्सको पुनः उत्पादन वा विकास गर्ने क्षमता भने छैन। वातावरण पोषणयुक्त रहे सात दिनदेखि एक महिनासम्म बाँच्ने सम्भावना अध्ययनले बताउँछ। त्यसपछि भने जेनोबोट्स मृत कोष बन्छ।

भर्मन्टले टफ्ट्स विश्वविद्यालयको एलेन डिस्कभरी सेन्टरसँगको साझेदारीमा जेनोबोट्ससम्बन्धी अध्ययन गरेको हो। यो पूर्ण हिसाबले नयाँ जीवन–रूप भएको वैज्ञानिकहरूको भनाइ छ।

केही रोबोटको बीचमा प्वाल छ, जसले औषधि ओसारपसार गर्न मद्दत गर्ने वैज्ञानिकहरू बताउँछन्। तस्बिर स्रोत: सिएनएन

कसरी बनाइयो जीवित रोबोट?

अध्येताहरूले सबभन्दा पहिला भ्यागुताका विशेष कोष (स्टेम सेल) बाट भ्रूण निकाले। त्यो भ्रूण काटेर निश्चित आकार प्रदान गरियो। भ्यागुताको यो कोषको विकास क्षमता अन्य साधारण कोषका तुलनामा फरक हुन्छ। यसलाई जुनसुकै आकारमा ढाल्न सकिन्छ।

यसरी आकार दिइसकेपछि केही समय यसै छाडियो। विकास क्रममा बाहिरी कोष आपसमा जोडिए र स्थिर बनावट तयार भयो। मुटुको मांसपेशीका कोशिकाले रोबोट स्वचालित हुन मद्दत पुर्‍यायो।

यो जेनोबोट्समा ‘सेल्फ हिलिङ’ अर्थात् आफैं निको हुने गुण रहेको वैज्ञानिकहरूले बताएका छन्। यसको एक कोष काटेर उनीहरूले परीक्षण गरेका थिए। यो कटाइले जेनोबोट्समा कुनै असर पारेन। केही समयपछि आफैं निको हुँदै गयो र पुरानै आकारमा फर्क्यो।

‘यो जीवित मेसिन हो,’ भर्मन्ट विश्वविद्यालयका प्रमुख अध्येता जोसुवा बोनगार्डले भनेका छन्, ‘यो हामीले देख्दै आएका परम्परागत रोबोट होइन। कुनै नयाँ जीवको प्रजाति पनि होइन, यो जीवित रोबोट हो। हामीले यस्तो पनि सम्भव होला भन्ने सोचेकै थिएनौं।’

जेनोबोट्स रोबोटजस्तो पनि देखिँदैन। यो झट्ट हेर्दा मासुको सानो टुक्राजस्तो छ। अनुसन्धाताहरू भन्छन्, ‘साधारण धातु र प्लास्टिक रोबोटले लिन नसक्ने ज्ञान यसले सजिलै टिप्न सक्छ।’

अध्ययनअनुसार परम्परागत रोबोट समयसँगै काम नलाग्ने हुन्छन्, वातावरणलाई पनि हानी पुर्‍याउँछ। जेनोबोट्स भने पर्यावरण अनुकूल र मानव स्वास्थ्यका लागि सुरक्षित रहेको वैज्ञानिकहरूको भनाइ छ।

जेनोबोट्सले विभिन्न विद्युतीय फोहोर सफा गर्न मद्दत पुर्‍याउँछ। महासागरमा थुप्रेका स-साना प्लास्टिक संकलन गर्न पनि प्रयोग गर्न सकिन्छ। यसबाहेक यसको आकार सानो भएकाले मानव शरीरमा औषधि हाल्न पनि उपयोगी छ।

जेनोबोट्सको मद्दतले जीव विज्ञानबारे थप बुझ्न सजिलो हुने र मानव स्वास्थ्यमा सकारात्मक विकास ल्याउन ढोका खोल्न सकिने अध्येताहरू दाबी गर्छन्।

‘मागअनुसार हामी प्राणीको थ्रीडी जैविक रूप बनाउन सक्छौं, जन्मसँगै आउने शारीरिक खोट ठीक पार्न सक्छौं, ट्युमरलाई सामान्य तन्तुमा रूपान्तरण गर्न सक्छौं। बुढ्यौली पनि पर सार्न सक्छौं,’ वैज्ञानिकहरूले भनेका छन्।

यी सबै सुन्दा कुनै ‘साइन्स फिक्सन’ फिल्म वा किताबजस्तो लाग्न सक्छ, जसमा रोबोटहरू मान्छेमाथि हाबी भएर विध्वंश मच्चाइरहेका हुन्छन्। जेनोबोट्समा काम गरिरहेका वैज्ञानिकहरू भने अहिले आत्तिनुपर्ने कुनै कारण नभएको बताउँछन्।

उनीहरूका अनुसार जेनोबोट्स स्वचालित भए पनि यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कै ठूलो भूमिका छ। एआईमा अहिलेसम्म नकारात्मक उद्देश्य पाइएको छैन।

‘जेनोपस लेभिस’ जातको भ्यागुताको कोषबाट यसको नाम राखिए पनि यसले अर्को अर्थ पनि जनाउने अध्येता जोसुवा बोनगार्ड बताउँछन्।

‘जेनो ग्रीक शब्द हो जसको अर्थ एकदमै नौलो वा अनौठो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले यो नयाँ प्रविधिमा जेनो शब्दले उपयुक्त व्याख्या गर्छ।’

 

Leave a Reply