Friday, January 15, 2021
Home > mophosala > जिल्ला सभापति भेलापछि पौडेल-सिटौलाको एकै स्वर- थप उत्साही भयौं

जिल्ला सभापति भेलापछि पौडेल-सिटौलाको एकै स्वर- थप उत्साही भयौं

‘कांग्रेस सुधारको अभियान लिएर देशभर जाँदैछौं’

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जिल्ला सभापतिहरूको भेलाले थप उत्साहित बनाएको बताएका छन्।

तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरू र केन्द्रीय सदस्य उपस्थित भेला समापनपछि बुधबार साँझ पौडेल र सिटौलाले सभापति शेरबहादुर देउवाले पुस ११ को निर्णय छिटो सच्याउनुपर्ने माग दोहोर्‍याए।

सभापति देउवाले विधान मिचेर सदस्यता सम्बन्धी धारा निलम्बन गरेको, बहुमतका आधारमा कार्यसमितिको म्याद थप गर्दै ०७७ फागुनमा महाधिवेशनमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याएको र विधान विपरीत ४७ विभाग गठन गर्ने निर्णय गरेपछि पौडेल-सिटौला पक्ष रूष्ट छन्।

बरिष्ठ नेता पौडेलले सभापति देउवा बहुमतको बलमा एकलौटी हिँडेपछि परामर्शका लागि ७५ जिल्ला सभापतिलाई बोलाए पनि ५० जिल्ला सभापति भेलामा सहभागी बनेको बताए।

‘७७ जिल्ला सभापतिलाई परामर्श बैठकमा बोलाएको हो, कतिपय आउन सक्नुभएन। ५० जनाजति आउनुभयो। यो दुई तिहाइ संख्या हो,’ पौडेलले भने, ‘जिल्ला सभापतिहरूबाट महत्वपूर्ण सुझाव प्राप्त गरेका छौं।’

जिल्ला सभापतिहरूले पार्टी सहमतिअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएको पनि उनले जानकारी दिए।

‘पार्टी नेतृत्व पारदर्शी र विधिसम्मत ढंगबाट चल्नुपर्छ र यसमा पूर्ण रूपमा सहयोग रहन्छ भन्ने जिल्ला सभापतिहरूको सुझाव छ,’ पौडेलले पत्रकारहरूसँग भने, ‘११ गतेको बैठकका निर्णय सच्चिनुपर्छ भन्ने नै जिल्ला सभापतिहरूको सुझाव आयो। हामीले पनि यो कुरा भन्दै आएको हो। उहाँहरूले थप बल दिनुभएको छ, हामी उत्साहित छौं।’

पुस ११ गते विधान मिचेर गरेको निर्णयले पार्टीलाई नै धरापमा पार्ने काम भएकोले त्यो छिटो सच्याउनुपर्ने पौडेलले बताए। निर्णय सच्याउन देउवा तयार नभएपछि पौडेलले जिल्ला सभापतिको भेला राखेर दवाव दिन खोजेका हुन्।

‘०७७ मंसिरसम्म अमल्याएर राख्ने र सबै चुनाव एकैपटक गर्ने गरी कार्यतालिका जारी गर्ने नियतमै शंका छ,’ पौडेलले भने, ‘विभाग २८ बाट ४७ बनाउनु विधान विपरीत हो। विधानका धारा पनि निलम्बन गरिएका छन्।’

सभापति देउवाले १४ औं महाधिवेशनका लागि मात्रै क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन गरेका छन्। महाधिवेशन हुनु छ महिना अघि नै क्रियाशील सदस्यता दिइसक्नुपर्ने विधानमा व्यवस्था भए पनि केन्द्रीय समितिले चाहेमा जुनसुकै बेला पनि क्रियाशील सदस्यता दिन सक्ने गरी धारा निलम्बन गरिएको छ।

पौडेलले आफ्नो अभियान पार्टीलाई सुधार गर्ने रहेको पनि बताए। ‘पार्टीलाई सुधार गरेर पहिलो बनाउने। जनताको भरोसाको केन्द्र बनाउने अभियानमा हामी छौं,’ उनले भने, ‘कांग्रेसलाई विकृतिमुक्त बनाउने अभियान हो। हामी यही अभियानका साथ देशभरका साथीहरूसँग जाँदैछौं।’

सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिमा निर्णय गरेको विरोधमा पौडेलले पनि बहुमत जिल्ला सभापतिको भेला राखेका हुन्।

बहुमतको निर्णय नमान्ने अनि बहुमत सभापति भेला राख्ने? भन्ने प्रश्नमा पौडेलले भने, ‘बहुमत र अल्पमतको निर्णय मान्ने/नमान्ने भन्दा पनि बहुमतले विधानलाई भत्काएको छ। बहुमत हुनै हुन्न भन्ने हाम्रो भनाइ होइन।’

पौडेलका कतिपय कुरामा कांग्रेसमा भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री सिटौलाले पनि सहमत जनाए। सभापति देउवाले सकेसम्म छिटो पुस ११ का निर्णय सच्याउनुपर्ने सिटौलाको भनाइ छ।

‘सहमतिबाट कार्यतालिका बनाउने स्थापित मान्यतालाई तोडिएको छ। महाधिवेशन भनेको कांग्रेसको राष्ट्रिय चाडजस्तै हो,’ सिटौलाले भने, ‘सभापति गुटको मात्र होइन सिंगो पार्टीको सभापति बन्न सक्नुपर्छ। मैले पुस १५ मै सभापतिलाई भनेको हुँ- निर्णय छिटो सच्याउनुस्।’

सभापति देउवाले बहुमतको बलमा महाधिवेशनको कार्यतालिका ल्याउँदा निष्पक्ष र पारदर्शी हुँदैन कि भन्ने शंका उत्पन्न भएको पनि उनले बताए।

‘महाधिवेशन निष्पक्ष हुन्न कि भन्ने शंका छ,’ उनले भने, ‘त्यसको प्रारम्भ क्रियाशील सदस्यता छानविनबाट सुरू हुन्छ। तर त्यो धारा नै निलम्बन गरिएको छ।’

जिल्ला सभापतिहरूले पनि पुस ११ को निर्णय सच्याउन सभापति देउवालाई सुझाव दिएको सिटौलाले बताए।

‘त्यो निर्णय तुरून्तै सच्याउनुस् भनेर सभभापतिलाई भनेको छु। जिल्ला सभापतिहरूले पनि त्यही भन्नुभएको छ,’ उनले भने।

पार्टीभित्र विवाद देखेपछि सभापतिले पहलकदमी लिएर सच्याउनुपर्ने उनले बताए। तर सभापति देउवाले पदाधिकारी वा प्रवक्ताबाट विवाद मिलाउन खोज्न नहुने सिटौलाको भनाइ छ।

‘हामीसँग सभापतिजीले केही भन्नुभएको छैन। अरूका कुरा सुनेर साध्य हुन्न,’ उनले भने, ‘गिरिजाबाबु र किसुनजी त्यत्रो विवाद थियो। विवाद हुँदा पनि सहमतिमै महाधिवेशनको कार्यतालिका ल्याएको इतिहास कांग्रेसमा छ।’

उनले कांग्रेसलाई सहमतिमै अघि बढाउन सभापति देउवालाई सम्झाइरहेको पनि बताए। ‘पार्टीलाई कमजोर हुन नदिन सभापतिलाई सम्झाइराखेका छौं,’ सिटौलाले भने, ‘विवाद मिलाउन सभापतिजी आफैं अग्रसर हुनुस्। पदाधिकारी, प्रवक्ता वा प्रेसमा भनेर हुन्न।’

भेलामा आएका जिल्ला सभापतिलाई सभापति देउवाले निवासमै भेट्न बोलाएका छन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार विहान १० बजे देउवा निवास बुढानिलकण्ठमा जिल्ला सभापतिलाई चियापानका लागि बोलाइएको हो।

सेताेपाटिबाट साभार

Leave a Reply