काठमान्डाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे असन्तुष्ट पक्षले बाेलायकाे जिल्ला सभापतिहरूको भेला आज तेस्रो दिन पनि जारी रह्याे।बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा सुरू बैठकमा जिल्ला सभापतिहरूले धारणा राखे।
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले जिल्ला सभापतिहरूसँग परामर्श गर्न बैठक डाकेका हुन्। बैठकमा कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए।
गत पुस ११ गते सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा गरेका निर्णय सच्याउनुपर्ने धारणा सिटौलाले बैठकमा राखेका छन्।‘विधानका धारा निलम्बन गर्ने अधिकार केन्द्रीय समितिलाई छैन। नेतृत्वले पुस ११ का निर्णय सच्चाउनुपर्छ,’ सिटौलाले भनेका छन्।
पुस ११ गते देउवा पक्षका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले ०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने, विधानमा सदस्यता सम्बन्धी धाराहरू निलम्बन गर्नेलगायत निर्णय गरेपछि कांग्रेसभित्र विवाद चुलियकाे छ।
बैठकमा सहभागी कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले सभापतिहरूकाे धारणा सहित भेला चलिरहेकाे जानकारी दिए। ‘सभापतिहरूले धारणा राखिरहनुभएको छ, संभवत आजै बैठक सकिन्छ,’ उनले भने।
बैठकमा पनि कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पार्टी नेतृ सुजाता कोइराला, नेता बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत केन्द्रीय सदस्य पनि सहभागी थिए ।