नेकपा (मसाल)ले वर्तमान सरकार अपदस्थ हुन सक्ने खतरा औंल्याएको छ । केपी शर्मा ओली नेतृत्वमा रहेको पूर्ण बहुमतको सरकारलाई भारतीय साम्राज्यवाद लगायतका शक्तिले अपदस्थ गर्न सक्ने सो पार्टीको आँकलन छ ।
भारतीय साम्राज्यवादप्रतिका सम्झौतापरस्त वा दलालीका प्रवृत्तिहरू पनि नेपालमा क्रियाशील रहेको सो पार्टीको ठहर छ । ‘तिनीहरूले नेपालको राष्ट्रिय हितविरुद्ध भारतीय साम्राज्यवादको सेवा गर्ने र त्यसरी राष्ट्रघात गर्ने सम्भावनाहरूलाई पनि उपेक्षा गर्नु गल्ती हुनेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘भारतीय साम्राज्यवादका विरुद्ध संघर्ष गर्ने बेलामा देशभित्रका सबै राष्ट्रघाती प्रवृत्तिहरूका विरुद्ध पनि सम्झौताहीन प्रकारले भण्डाफोर वा संघर्ष गर्नु आवश्यक छ ।’
अहिलेसम्म नेपालको कुनै सरकारले कालापानीबाट भारतीय सेना हट्नुपर्छ भनेर मत प्रकट नगरेको अवस्थामा ओली सरकारले त्यसबारे स्पष्ट रूपले आफ्नो मत बाहिर ल्याएको उल्लेख गर्दै नेकपा (मसाल)ले त्यसलाई ‘सकारात्मक कुरा’ मानेको छ । ‘तर त्यतिमात्र पर्याप्त छैन । प्रथम, सरकारले कुटनीतिक स्तरमा नेपालको पक्षबाट दृढतापूर्वक भारतका अगाडि आफ्नो मत राख्नुपर्दछ । त्यसबारे अपनाइने कुनै पनि प्रकारको सम्झौतापरस्त दृष्टिकोणलाई अस्वीकार गर्नु पर्दछ र त्यसको कडा विरोध गर्नुपर्ने छ । द्वितीय, भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि सजिलैसित आफ्नो सेना नहटाउने प्रष्ट छ । त्यसकारण उक्त विषयलाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा लैजान तथा अन्तर्राष्ट्रियकरण गर्न समेत सरकारले पहल गर्नुपर्दछ । तृतीय, उक्त विषयमा जनतालाई व्यापक रूपले गोलबन्द गर्न पनि सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता छ । तर उक्त प्रश्नमा सरकारले स्पष्ट र दृढ नीति अपनाएको देखिन्न,’ पार्टीको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।
राताेपाटिबाट साभार