Saturday, January 23, 2021
Home > mophosala > इरानलाई ट्रम्पको चेतावनीः अमेरिकामाथि आक्रमण गरे ५२ ठाउँमा तत्काल हमला गर्नेछौं

इरानलाई ट्रम्पको चेतावनीः अमेरिकामाथि आक्रमण गरे ५२ ठाउँमा तत्काल हमला गर्नेछौं

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी नागरिक र उसको सम्पत्तिमाथि आक्रमण गरे इरानका  ५२ वटा स्थान तत्काल र कठोर हमला गर्ने चेतावनी दिएका छन्।

शुक्रबार ड्रोन आक्रमणमा इरानी कुद्स सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीले त्यसको बदला लिने चेतावनी दिएका थिए। आइतबार बिहान ट्वीट गर्दै ट्रम्पले इरानले अमेरिकी नागरिक र सम्पत्तिमा आक्रमण गरे जवाफी आक्रमणका लागि इरानका उच्चस्तर र सांस्कृतिक महत्वका ५२ वटा स्थानको पहिचान गरिसकेको बताएका छन्।

‘अमेरिका थप खतरा चाँहदैन’, ट्रम्पले लेखेका छन्।

ती ५२ स्थानले सन् १९७९ मा इरानमा बन्धक बनाइएका आफ्ना ५२ अमेरिकी नागरिकलाई  प्रतिनिधित्व गर्ने ट्रम्पको भनाइ छ।

ट्रम्पको यो चेतावनी कासिम सुलेमानीको बग्दादमा अन्त्येष्टि गरिएको केही घन्टापछि आएको हो।

सुलेमानीको अन्त्येष्टिपछि इराकमा रहेको अमेरिकी राजदूतावास वरपर कयौं रकेट आक्रमण भएको थिए। एउटा रकेट सुरक्षित मानिएको दुतावासको हरियो क्षेत्र नजिकसमेत आएको थियो।

इराकी सेनाले सो आक्रमणमा कोही घाइते नभएको जनाएको छ।

यस्तै घटनामा कुनै समूहले जिम्मेवारी नलिए पनि इरान समर्थक मिलिसयाले आक्रमण गरेको दोष लगाइएको छ।

किन र  कसरी मारिएका थिए सुलेमानी?

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अन्तर्राष्ट्रिय समुदायले गरेको आणविक सम्झौता एकपक्षीय रूपमा तोडे।

राष्ट्रपति बाराक ओबामाको पालामा इरानको आणविक कार्यक्रम रोक्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्य र जर्मनीले इरानसँग उक्त सम्झौता गरेका थिए। आणविक कार्यक्रम रोकेबापत् इरानले यी देशले लगाएको प्रतिबन्धमा केही राहत पाएको थियो।

२०१६मा राष्ट्रपति चुनिएका ट्रम्पले उक्त सम्झौता खारेज गरे र इरानमाथिको प्रतिबन्ध थप कसिलो बनाए। त्यसयता मध्यपूर्वमा बलियो पकड भएको तेहरान र वासिङ्टनबीचको सम्बन्ध झनझनै बिग्रँदै गएको छ।

शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमण गरी इरानका दोस्रो शक्तिशाली व्यक्ति मेजर जनरल कसिम सुलेमानीलाई मारिदियो। सुलेमानी एलिट कद्स फोर्सका प्रमुख थिए। रेभुलसनरी गार्डअन्तर्गतको यो सैन्य संगठनले इरानी सीमाबाहिर आफ्नो कार्यक्षेत्र बनाएको छ। यसको प्रमुख इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनी छन्।

बग्दादको विमानस्थल बाहिर सुलेमानीलगायतको टोली गइरहेको गाडीको लस्करमा अचानक ड्रोन आक्रमण भएको थियो। सुलेमानीसहित ६ जनाको टोली जहाजमा सिरियाबाट बग्दाद आएका थिए।

शुक्रबारको ड्रोन आक्रमण अचानक भए पनि अनपेक्षित भने थिएन किनकी सुलेमानीलाई अमेरिकाले लामो समयदेखि आफ्नो सत्रुको सूचीमा राखेको थियो।

त्यसो त कुनैबेला सुलेमानीले अमेरिकासँग सहकार्य पनि गरेका थिए। सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामा गरेको आक्रमणपछि अफगानिस्तानमा तालिवानविरूद्धको कारबाहीमा उनले अमेरिकालाई सघाएका थिए। यो सहकार्यले अमेरिकासँग इरानको सम्बन्ध सुधार भइरहेका बेला तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले २००२ को स्टेट अफ द युनियन सम्बोधनमा क्युबा, लिविया र सिरिया रहेको ‘एक्सिस अफ इभिल’ मा इरान, इराक र उत्तर कोरिया थपेपछि सुलेमानी अमेरिकासँग चिढिएका थिए।

तैपनि साझा सत्रु सद्दाम हुसेनविरूद्धको आक्रमणमा पनि सुलेमानीले अमेरिकासँग सहकार्य गरे। हुसेन सत्ताच्यूत भएपछि पनि उनले सियाबहुल इराकमा शक्ति बाँडफाँट मिलाउन अमेरिकालाई सहयोग गरे।

सन् २०१५ को आणविक सम्झौतापछि अमेरिकाले सुलेमानी र उनका सेनामाथि आक्रमण नगर्ने अघोषित नीति अपनाएको थियो किनकी त्यतिबेला अमेरिकाको लडाइँ इराक र सिरियामा रहेको इस्लामिक स्टेटसँग केन्द्रीत थियो।

‘आइएसविरूद्धको अपरेशन गरिरहेका बेला हामीले स्वभाविक रूपमा सुलोमेनीसँग एउटा भद्र सहमति गरेका थियौं कि हामीले उनलाई र उनले हामीलाई निशाना नसाँध्ने,’ ट्रम्पको राष्ट्रिय सुरक्षा परिषद्का पूर्वबरिष्ठ निर्देशक क्रिस्टेन फोन्टेनरोजले समाचारपत्र द गार्डियनसँग भनेका छन्।

ट्रम्पले आणविक सम्झौता तोडेपछि र मध्यपूर्वमा अमेरिका र उसका सहयोगीको प्रमुख सत्रु आइएसको क्यालिफेट ध्वस्त भएपछि सुलेमानी नयाँ चुनौतीका रूपमा उदाएका थिए।

‘मौका मिल्नासाथ उनीमाथि आक्रमण हुनसक्थ्यो,’ फोन्टेनरोजले भने,‘एउटा अत्यन्त खतरनाक मान्छे तपाईंले आक्रमण गर्नसक्ने ठाउँमा छ भन्ने थाहा पाएपछि अर्को वर्षका लागि तपाईं त्यो मौका कुर्न सक्नुहुन्न।’

सिरियाको गृहयुद्ध सुरू भएदेखि नै राष्ट्रपति बसर अल असदलाई जोगाउन सुलेमानीले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले सिरियाभित्रका विभिन्न  सैन्य दस्ता, राष्ट्रिय सुरक्षा बल, क्षेत्रीय  शक्ति र पछिल्लो समय रूसलाई पनि असदको पक्षमा ल्याएका थिए।

अमेरिकी अधिकारीहरू जनरल सुलेमानीलाई इराक युद्धका क्रममा भएको सयौं अमेरिकी सैनिकको मृत्युको पनि जिम्मेदार ठान्छन्।  त्यतिबेला सुलेमानीले इराकका विद्रोहीहरूलाई बम बनाउने अत्याधुनिक उपकरण र तालिम दिने गर्थे।

अमेरिका, इजरायल र साउदी अरेबियाविरूद्ध मध्यपूर्वका अरू देशमा हुने गतिविधिलाई बढावा दिन पनि सुलेमानीले मास्टरमाइन्डको काम गरेको अमेरिकी अधिकारीको आरोप छ।

‘सुलेमानीले इराक र उक्त क्षेत्रमा काम गर्ने कूटनीतिज्ञ र अन्य  कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाइरहेका थिए,’ ड्रोन आक्रमणपछि जारी गरिएको विज्ञप्तिमा  अमेरिकी रक्षा मन्त्रालयले भनेको छ,‘सुलेमानी र उनको कद्स फोर्स सयौं अमेरिकी र अन्य सहयोगी देशका सैनिकको मृत्यु र हजारौं घाइतेका लागि जिम्मेवार छ।’

गत साता इरानले सहयोग गरिरहेको विद्रोही समूहले गरेको रकेट आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टर मारिएका थिए। यही साता बग्दादस्थित अमेरिकी राजदूतावासमा इराननिकट मिलिसियाले आक्रमण र आगजनी गरपछि अमेरिकाले सुलोमनीलाई  निशाना बनाएको देखिन्छ।

सुलेमानी मारिएपछि विदा मनाउन फ्लोरिडास्थित आफ्नो रिसोर्टमा पुगेका राष्ट्रपति ट्रम्पले ट्वीटरमा अमेरिकाको झन्डा पोष्ट गरेका छन्।

अमेरिकाका लागि खलनायक सुलेमानी इरानमा भने सेलिब्रेटी थिए। सर्वोच्च नेता खमेनीसँग अत्यन्तै नजिक रहेका सुलेमानीलाई  इरानको भावी नेताको रूपमा हेरिएको थियो।

सन् १९९८ देखि कद्स फोर्सका प्रमुख बनेका सुलेमानीले मध्यपूर्वमा इरानी प्रभाव फैलाउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनका गतिविधिलाई नियन्त्रण गर्न अमेरिका, साउदी अरब र इजरायललाई हम्मेहम्मे परिरहेको थियो। उनले नेतृत्व सम्हालेपछि कद्स फोर्सले जासुसी, आर्थिक र राजनीतिक क्षमता धेरै बढाएको थियो।  बितेका २० वर्षमा कैयौं पटकको उनको हत्या प्रयास भएको थियो।  बेलाबेलामा उनी मारिएको हल्लाहरू चलिरहन्थे।

शुक्रबार बिहान भने उनी मारिएको खबर साँच्चै थियो। उनको मृत्युको खबर बजाउन सरकारी टेलिभिजनले चलिरहेको कार्यक्रम रोकेको थियो।

लगत्तै सर्वोच्च नेता खमेनीले सुरक्षा समितिको आकस्मिक बैठक डाके।

केहीबेरमा जारी भएको खामोनीको विज्ञप्तिमा भनिएको छ- भगवानसम्मको उनको प्रस्थानले उनको बाटो र मिसनलाई अन्त्य गर्दैन। बरू ती अपराधी जसको हातमा उनी र अरू सहिदहरूको रगत लतपतिएको छ तिनीहरूविरूद्ध शक्तशाली बदला कुरिरहेको छ।

सुलेमानीको मृत्युमा इरानमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ।

Leave a Reply